मनाङमा फेरि आगलागी



मनाङ, (नेस) ।

मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । माघ २९ गतेदेखि लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय चिन्तित भएका छन् ।

भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका डीएसपी होमनाथ पन्थीले बताउनुभयो । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको भनाइ छ ।आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

‘हामीले हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं।’ –मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो । उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान प्रक्रियामा ढिलाइ गरेको आरोपसमेत लगाउनुभयो ।मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वनहरु परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयको आरोप छ ।

‘जंगल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीय परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौं, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौं।’ –अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले भन्नुभयो । उहाँले स्थानीयले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताउनुभयो ।यसभन्दा अघि पनि दुईपटकसम्म मनाङको विभिन्न जंगलमा आगलागी भएको थियो । आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्