टिकटक र नेपाली समाज



दुर्गा दंगाल(चाँदनी )

सूचना प्रविधिले विश्वजगत्लाई साँघुरो बनाएको छ । आज विश्वको जुनसुकै कुनामा बसेर हत्केलामा नै विश्वजगत्लाई न्याल्न सकिन्छ । नेपाल पनि विश्वजगत्को सूचना प्रविधिबाट अछुतो रहन सकेको छैन । नेपाली समाजमा पनि बिस्तारै सूचना प्रविधिले फड्को मार्दै गइरहेको छ । यसरी सूचना प्रविधिले फड्को मार्दै गर्दा नेपाली समाजमा सूचना प्रविधिको पूर्णरुपमा विश्वास गर्न सकिने अवस्था छैन । किनकि यहाँ कतिपय विद्युतीय मिडियाहरुले भ्रामक सूचनाहरु फैलाउने गरेको पाइन्छ । जसले गर्दा समाजलाई धमिल्याएको पाइन्छ । विशेषतः सामाजिक सञ्जालहरुमा भए-नभएको भ्रामक सूचना दिएर नेपालमा मिडियाप्रतिको विश्वास घट्दै गएको आभास गर्न सकिन्छ ।

हुन त कुनै पनि वस्तुको राम्रो पक्ष तथा नराम्रो पक्षदुवै हुन्छ नै । कुनै पनि वस्तुको महत्व बुझेर सही प्रयोग गर्न सके धेरै फाइदा लिन सकिन्छ । तर उक्त वस्तुलाई दुरुपयोग ढंगले प्रयोग गर्दा व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै गम्भीर दलदलमा फस्न सक्ने सम्भावना प्रशस्तै हुन्छ । नेपालमा सूचना प्रविधिको राम्रोभन्दा बढी नराम्रो पक्षको प्रभाव हाबी भएको पाउन सकिन्छ । नेपालमा पनि विभिन्न च्याउसरि उम्रिएका अनलाइन न्युज पोर्टलदेखि विभिन्न सामाजिक सञ्जाल फेसबुक,युट्युब, टिकटक आदिले नेपाली बजार ओगटेको अवस्था छ ।अहिले नेपाली बजारमा विभिन्न किसिमका भिडियो बनाएर विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने र फलोअर्स, लाइक, कमेन्टर भ्युबढाउने होडबाजी नै चलेको पाइन्छ ।यसले नेपाली समाजमा कस्तो प्रभाब परिरहेको छ,सजिलै आँकलन गर्न सक्ने अवस्था रहेको छ । यस्ता टिकटक, युट्युब, फेसबुकले नेपाली समाजलाई कता डो¥याइरहेकोछ सोचनीय कुरा भैसकेको छ । अहिले नेपाली समाज बिग्रनुमा सामाजिक सञ्जालदेखि टिकटक र युट्युबले व्यापक स्थान ओगटेको छभन्दा अन्याय भयो भन्न नसकिने अवस्था छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जानु अति जरुरी भैसकेको देखिन्छ ।

सूचना प्रविधिको विभिन्न माध्यमहरुमध्येको टिकटक पनि एक हो । अहिले विश्वका अधिकांश मुलुकमा टिकटकलेआफ्नो बजार लिइरहेको देख्न सकिन्छ । टिकटकपाँच–छ वर्षका बालबालिकादेखि लिएर साठी–सत्तरी वर्ष उमेर समूहका बूढाबूढीहरुमाझ लोकप्रिय बनेको छ । यसले मानिसहरुको कला, गला सहजरुपमा सार्वजनिक गर्न निकै सहयोग त गरेको छ । यसकाधेरै राम्रा पक्षहरु भए तापनि यसका नराम्रा पक्षहरुको बढी अनुकरण गरेकैले सुरक्षाको कारण भारतलगायत अन्य कतिपय देशमा बन्द नै गरिएको अवस्था देखिन्छ ।नेपालमा पनि टिकटकको राम्रा पक्षहरुभन्दा नराम्रा पक्षहरु बढी हाबी भएको पाइन्छ । अहिले नेपाली बजारमा टिकटकमा रमाउने र जे मन लाग्यो त्यही टिकटक बनाएर अपलोड गर्ने कामको प्रतिस्प्रधा नै चलेको पाइन्छ । यसमा विभिन्न प्रकारका छोटा–छोटा भिडियोहरु बनाई अपलोड गर्न मिल्ने र लाइक, कमेन्ट, भ्यु र फलोअर्सको निकै ठूलो महत्व हुने गर्दछ ।राम्रा पक्ष र नराम्रा पक्षको विचार नै नगरी अर्काको अनुकरण गर्ने नेपाली समुदाय पनि टिकटकमा निकै नै रमाएको देखिन्छ । नेपाली बजारमा पनि स–साना बालबालिकादेखि लिएर युवा तथासाठी–सत्तरीवर्षसम्मका बूढाबूढीहरु पनि टिकटकमा रमाउने गरेको देखिन्छ ।

टिकटकले अन्य सामाजिक सञ्जालहरुलाई पछि पार्दै नेपाली बजारमा राम्रै स्थान लिन सफल भएको छ । तर यसकाराम्रा पक्षहरुलेभन्दा नराम्रो पक्षहरुले नै नेपाली समाजमा प्रभाव पारेको पाइन्छ ।टिकटकले मानिसहरुको ज्यानसमेत लिएका कति घटनाहरु विभिन्न मिडियाहरुमार्फत पढ्न र सुन्नपाइन्छ । जस्तै कि पोखरा महानगरपालिका–१४, मनकामना टोल बस्ने आठ वर्षीया बालिका प्रनिशा बानिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न गई गम्भीर घाइते भइन् । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । उता तुलसीपुर उपमहानगरपालिका वडा नं. १९बिजौरी निवासी २४ वर्षीय रमेश थापा झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भए । उनको पनि उपचारको क्रममा मृत्यु भएको खबर विभिन्न मिडियाहरुबाट पढ्न र सुन्न पाइएको थियो ।
यसरी नेपाली समाजमा टिकटकले मान्छेको ज्यानसमेत लिइरहेको छ । अर्कोतिर टिकटकमा विभिन्न भिडियो बनाई अपलोड गरेर धेरैभन्दा धेरैलाई फलोअर्स बढाउने होड चलेको देखिन्छ । टिकटक बनाएर भाइरल हुने क्षणिक उद्देश्यले हाम्रो सामाजिक रीतिरिवाज, चालचलनलाई नै तिलाञ्जलि दिन पछि नपर्ने परिपाटी विकास गरेको अनुभव गर्न सकिन्छ । टिकटकमा उपलब्ध केही नेपाली भिडियोहरु चेतनामूलक र कलात्मक भए तापनिकतिपय भिडियोहरु त नेपाली समाजले सहजै स्वीकार्न नसक्ने छाडा र समुदायको सद्भाव बिगार्ने खालका पनि पाइन्छन् ।

जसले नेपाली समाजलाई धमिल्याउने काम गरिरहेको छ।टिकटकमा रमाउन चाहने नेपाली समुदायले भिडियोहरुलाई आमनागरिकहरुले विश्वास गर्न सक्ने सन्देशमूलक, सहीसूचनामूलक र नेपाली धर्म, संस्कृति, परम्परा, मूल्य–मान्यता तथा माटो सुहाउने किसिमका बनाउनुपर्ने होइन र ?टिकटक भिडियो बनाउने र बनाइएका भिडियोहरु विषयवस्तु नै नलाग्ने विषयलाई लाखौंले हेरेर हजारौंले कमेन्ट, लाइक, शेयर गरिरहेका हुन्छन् । अनावश्यक विषय हेरेर समय बरबाद गरिरहेको देखिन्छ। टिकटक भिडियोबनाउने र बनाइएका भिडियोहरु हेर्ने समुदायलेसमयको दुरुपयोग गरिरहेकाछन् । आज आधुनिक प्रविधि भित्र्याउने नाममा नेपालीहरुकोवास्तविकता नै हराएर अस्तित्वविहीन हुने अवस्थामा नेपाली समाज आइसकेको अनुभव गर्न सकिन्छ ।पहिले मोबाइल, फेसबुक, युट्युब, टिकटक आदि सामाजिक सञ्जाल नभएका समयमा जसरी आफूभन्दा ठूला मान्छेका कुरा सुन्ने, उनीहरुका अनुभव सुन्ने, रमाइलो गर्ने, एक–अर्काको अनुभव आदानप्रदान गर्ने लगायतका संस्कृतिहरु नेपाली समाजबाट हटिसकेको पाइन्छ ।

किनकि आजका युवापुस्ताहरु मोबाइल तथा विभिन्न सामाजिक सञ्जालमै व्यस्त भई रमाउन मन पराउनेगर्दछन् ।आजका युवापुस्ताहरुले नेपाली समाजको मौलिकता गुमाइसकेका छन् ।कतिपय अवस्थामाटिकटकमा रमाउन मन पराउने समुदायले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभावी भिडियो बनाई अपलोड गर्दा व्यक्ति तथा संगठनात्मक गोपनीयता पनि भंग भैरहेका घटनाहरु पनि हुने गरेका छन् ।यदि समयमै यसको नियन्त्रण गर्न नसकेको खण्डमा यसले नेपाली समाजलाई क्रमशः नङ्ग्याउँदै लैजाने छ । सामाजिक सद्भाव भड्कने छ । जुन नेपाली समाजको लागि राम्रो पक्ष हुँदैन । हुन त हरेक उमेरका बालक, वृद्ध, र युवाहरुमा बढ्दो सामाजिक सञ्जालप्रतिको गहिरो लतलाई मध्यनजर गरी सरकारले विभिन्न विधेयक तथा कानुनमार्फतसामाजिक सञ्जालले निम्त्याएको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकृति नियन्त्रणको प्रयास पनि गरिरहेको देखिन्छ । तर यो विकराल बन्दै गएको समस्यालाई नियन्त्रण गर्न सानोतिनो प्रयासले मात्रै सम्भव हुने अवस्था देखिँदैन ।सरकारले यो सामाजिक विकृति तथासमस्यालाई रोक्नका निम्ति यस्ता सामाजिक एपहरुको समयमा नै कडाभन्दा कडा कानुनको दायरामा राख्न नसकेमा वा बन्द गर्न नसकेमा समाजमा अझ अशान्ति पैदा भई सामाजिक सद्भाव भड्केर जाने देखिन्छ ।

त्यसैले अहिले नेपाली समाज बिग्रँदै जानुमा सामाजिक सञ्जाललगायत टिकटक र युट्युबले व्यापक स्थान ओगटी महत्वपूर्ण भूमिका खेलिरहेको यो अवस्थामा यस विषयमासम्बन्धित निकाय, राजनीतिक दल, बुद्धिजीवी,समाजसेवी तथा सबैको ध्यान जानुपर्ने अति जरुरी देखिन्छ । त्यस्तै गरी टिकटकमा रमाउने समुदायले पनि यसतर्फ सचेत र इमानदारी भई यस्ता एपहरुको सदुपयोग गर्नु आवश्यक छ । यस्ता भिडियो हेरी रमाउने समुदायहरुले पनि अबदेखिसन्देशहीन तथा सूचनाहीन विषयवस्तुका भिडियोहरुलाई बहिष्कार गर्न सक्नुपर्दछ । सन्देशमूलक तथा सूचनामूलक भिडियो मात्र हेरौं र लाइक, कमेन्ट तथा शेयर गर्ने गरौं । अर्थहीन तथा सामाजिक सद्भाव खलबल्याउने खालका भिडियोहरु नहेरौं । यस्ता प्रयास गर्न सकेको अवस्थामा टिकटक तथा युट्युबहरुलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने देखिन्छ । गलत प्रवृत्ति हतोत्साहित हुनेछ । जसले गर्दा सभ्य तथा समुन्नत समाज कायमै रहनेछ भने समाजमा शान्तितथा समुन्नत समाजको अझ विकास गर्न सहयोग पुग्ने देखिन्छ । त्यसैले यो अभियानमा प्रत्येक नागरिक जागरुक हुन अति आवश्यक भैसकेको छ । आफ्नो तथा आफ्नो परिवार, समाज, राष्ट्रको रक्षार्थका निम्ति यो हामी सबै नेपालीहरुको साझा दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्