पूर्वीय ज्योतिषशास्त्रका केही पक्ष



ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन एवं विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । वैज्ञानिकहरूले आज कम्प्युटर, दुर्बिन र अनेक विश्वविद्यालयको प्रयोगशालामा वर्षौं बसेर पूरा ब्रह्माण्डकै अध्ययन गर्दै आएका छन् ।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचीन सभ्यतामा नै भएको थियो । ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वान्हरूको धारणा छ । भारतीय उपमहाद्वीपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ । र, पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ । यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो । पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०-३० डिग्रीको । यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ । मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि ।

अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति र शनि जम्मा सात । यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ । यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन् । त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरीत दिशामा रहेका हुन्छन् । ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ । राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ ।राशी स्थिर रहन्छ । ग्रहहरू गतिशील । कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ । सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन् । आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ । आ–आफ्ना घरमा भएका बेला यिनीहरू बलवान् हुन्छन् । ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ । शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ । ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन् ।

मंगल ग्रहको रङ्ग रातो हुन्छ । त्यसैले यसले रिस, युद्ध, लडाइँ आदिको संकेत गर्दछ । त्यस्तै बृहस्पतिलाई देवगुरु मानिन्छ र बृहस्पतिले शिक्षा र विद्वताको संकेत गर्दछ । बृहस्पति प्रधान भएको व्यक्ति विद्वान् हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन् । शुक्र दानवगुरु हुन् । त्यसैले बृहस्पति शुक्रको शत्रु भयो । शुक्रले यौनको पनि संकेत गर्दछ । शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ । शनि पाप ग्रह हो । यसको प्रभाव पाप कर्ममा हुन्छ । धन पनि पाप कर्म हो । शनिको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ । चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो । यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ । यस्तै–यस्तै ।कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरूलाई केन्द्र भनिन्छ । पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ । चौथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति-पत्नी, कुटुम्ब र दशम घरबाट पितृपक्ष, अध्ययन, व्यवसाय आदिको अनुमान गरिन्छ । केन्द्रमा शुभ ग्रह हुनु शुभ संकेत हो । त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ । द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ । द्वितीय घरले आफन्तसँग विछोड अर्थात् परदेशको संकेत गर्दछ । षष्ठम घरबाट स्वास्थ्य, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ । कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ । एउटा हो दृष्टि । ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन् । कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घरमा ठाडो दृष्टि दिन्छ । यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान् दृष्टि मानिन्छ । त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि । शनि ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मंगल ग्रहले चौथो र अष्टम घरमा र बृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ ।फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो । दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ । त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्तय । राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो । उदाउँदो ग्रहको प्रभाव बलवान् हुन्छ ।

ग्रहका आफ्ना भोगकाल हुन्छन् । त्यसलाई दशा भनिन्छ । बृहस्पतिको १६ वर्ष, शनिको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि । दशाहरू पनि विभिन्न खालका हुन्छन् । विंशोत्तरी दशा, योगिनी दशा आदि । योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ । फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् । एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ । त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ ।
लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू । ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरी सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधिअनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो ।

पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ । चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ । नक्षत्र जम्मा २७ वटा छन् । एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक–एक पाउसँग एक–एक अक्षर सम्बन्धित हुन्छन् । यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन् । यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ ।बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ । यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ । तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ । जनबोलीमा एउटै कुरालाई जोड्दै–जोड्दै लम्ब्याउने प्रवृत्तिलाई ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ । त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई संकेत गरेको हो । मतलब कि यसको कुरा जति गरे पनि टुंगिँदैन । ज्योतिष विद्यामा अंकज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन् । परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो । त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन् । तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ ।

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो । यसमा कसैको शंका नरहोस् भन्ने भनाइ ज्योतिषीहरूको रही आएको छ । तर समयसँगै यसमा धेरै विकारहरू आएका छन् । यो विद्यालाई आज पैसा कमाउने भाँडाको रूपमा प्रयोग गरिएको छ । आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृततुल्य हुन पुगेको छ । आज जसरी विज्ञानका विद्यार्थीहरूले नयाँ–नयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थीको मेहनत र खोजको आवश्यकता छ । यदि सही ढंगले तपाईंले यो शास्त्रको अध्ययन गर्नुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ ।
कुसुम पन्त, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्