दोश्रो चरणको खोप अभियान : संचारकर्मी, जनप्रतिनिधि र कर्मचारी प्राथमिकतामा



मोतीराम तिमल्सिना, काभ्रे ।

स्वास्थ्य कार्यालय काभ्रेले दोश्रो चरणको खोप आईतबारबाट शुरु गर्ने भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको थियो । दोश्रो चरणमा ५ हजार ब्यक्तिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

‘२०७७ फागुन २ गते देखि फागुन ७ गतेसम्म विहान ९ बजे देखि दिउँसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालमा नेपाल सरकारको निर्णय अनुसार दोश्रो चरणको कोभिड विरुद्धको खोप शुरु गर्न लागिएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘लक्षित समुहमा परेका ब्यत्तिहरुले तोकिएको अवधी भित्र खोप लगाउन अनुरोध गरेका छौं । खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।’

पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यत्तिहरु, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैकमा कार्यरत कर्मचारीहरु, नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यत्तिहरुलाई खोप लगाईनेछ ।

हरेक कार्यालयले आफ्नो कार्यालयमा कार्यरत २० प्रतिशत कर्मचारीहरुलाई दैनिक खोप लगाउने ब्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ । जिल्लाको मेथिन्कोट अस्पतालमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकाका लक्षित समुहका ब्यक्तिहरु तथा धुलिखेल अस्पतालमा बाँकी पालिकालाई कार्य क्षेत्र बनाउने लक्षित समुहका ब्यक्तिहरुलाई खोप लगाईनेछ ।

तेश्रो चरणमा वित्तिय संस्थाका कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका ब्यक्तिहरुलाई खोप लगाईनेछ । पहिलो चरणमा खोप लगाईएका ब्यक्तिहरुलाई हल्का ज्वरो आउने, जिउ दुख्ने बाहेक अन्य केहि नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल र मेथिन्कोट अस्पतालले खोप लगाई सके पछि हुन सक्ने सम्भावित लक्षणहरुको उपचार गर्ने पुर्व तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्