त्रिवेणी सफाई अभियानमा जुटे अभियान्ताहरु



न्युज अफ नेपाल, काभ्रे ।

१२ वर्षे मकर मेलाको तयारी भईरहेको पनौतीको त्रिवेणी खोला सरसफाई अभियानको १ सय हप्ता पुरा भएको छ । आँउदो वर्षको माघ महिनामा त्रिवेणी धाममा मकर मेला शुरु हुन्छ । सरसफाई सप्ताहको एक सय हप्ता पुगेको अवसरमा विभिन्न संघ संस्थाको सहभागितामा बृहत्त सरसफाई गरिएको छ ।

त्रिवेणी सरसफाई अभियानमा नेपाली काँगे्रसका महामन्त्री डा.शशांक कोइराला, पुर्व मुख्य सचिव लिलामणी पौडेल, नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य, कालिजंग गण धुलिखेलको टोली, बागमती सफाई अभियानका अभियान्ता तथा शान्ती समाजका अध्यक्ष उत्तम पुडासैनी, अभियान्ता किशोर शाही, चक्रपथ सरसफाई अभियानका अभियान्ता ताराबहादुर कुँवर, पनौती त्रिवेणी अभियानकी संयोजक सुमित्रा बञ्जारा लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै संविधान सभा सदस्य रामहरी सुवेदी, पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, नगर प्रमुखहरु, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाहरुको सहभागिता रहेको थियो । सफाई अभियान समारोहमा बोल्दै काँग्रेस महामन्त्री शशाकं कोईरालाले नदीनालाको सफाईमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

बागमती सफाईमा सबैको साथले सफल हुँदै गएकाले पनौती त्रिवेणी सरसफाई अभियानलाई पनि सबैले सहयोग गर्न अनुरोध गर्नु भयो । बागमती सफाई अभियान्ता एव्म पूर्व मुख्यसचिव लिलामणि पौडेलले घर आँगनको सरसफाई गर्न नसक्नेले स्थानीय देखी राष्ट्र सम्मको नेतृत्व गर्न नसक्ने बताउनु भयो । सफाई अभियानलाई राजनीतिक बिषय बनाउन नहुने उहाँको धारणा थियो ।

काभ्रेली सक्रिय महिला संगठनले सुरु गरेको पनौती त्रिवेणी सफाइ अभियान एक सय हप्तामा पुगेको हो । पनौती त्रिवेणी अभियानकी संयोजक सुमित्रा बञ्जाराले पनौती नगरपालिकालाई ‘क्लिन पनौती, ग्रीन पनौती’ बनाउने अभियानका लागि हरेक हप्ताको एक दिन सरसफाई अभियान सञ्चालन गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्