सरकारको चौतर्फी विरोध

पाँच घण्टा हिरासतमा राखेपछि झाँक्री रिहा 



मधुसूदन रायमाझी, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनुभएको छ । पक्राउको चौतर्फी विरोधपछि प्रहरीले साँझ उहाँलाई विनाशर्त रिहा गरेको हो । नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित आफ्नै निवासबाटै पक्राउ गरेर ५ घण्टा हिरासतमा राखेपछि साँझ ६ः२० बजे रिहा गरेको थियो ।

प्रहरीले शुरुमा सोधपुछका लागि आउन गरेको आग्रहलाई अस्वीकार गर्दै उहाँले पक्राउ पुर्जी खोज्नुभएको थियो । पक्राउ गर्ने भएसँगै नेकपाका नेता कार्यकर्ताले सरकारको विरोध गर्दै नारावाजी गरेका थिए । त्यसपछि प्रहरीले झाँक्रीलाई ‘राज्यविरुद्धको कसूरअन्तर्गत दफा ५८’को कसूरअन्तर्गतको अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी थमाएसँगै दिउँसो १ः१० बजेतिर प्रहरीले पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा लगेर राखेपछि नेकपाका युवा विद्यार्थीले सडकमा विरोध प्रदर्शन गरेका थिए भने सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको कडारुपमा आलोचना गरेका थिए ।

चौतर्फी आलोचना, दबाबपछि अन्ततः सरकार उहाँलाई रिहा गर्न तयार भएको थियो । राजनीतिक विषयमा सरकारले प्रहरीलाई नै विवादमा पार्ने गरी झाँक्रीलाई पक्राउ गर्न दबाब दिएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएपछि केही दिनदेखि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिँदै आउनुभएको प्रहरी स्रोतको दाबी छ ।

सरकारले केही दिन झाँक्रीलाई हिरासतमै राख्ने मनसायको साथ पक्राउ परेको भए पनि चौतर्फी दबाब थेग्न नसक्ने भएपछि रिहा गरेको नेकपा प्रचण्ड–नेपाल समूहका नेता ठाकुर गैरेले बताउनुभयो । साँझ रिहा भएपछि प्रतिक्रिया दिँदै झाँक्रीले प्रतिगामी सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि बाध्य भएर आफूलाई रिहा गरेको बताउनुभयो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने उद्घोष गर्दै उहाँले भन्नुभयो– ‘चौतर्फी दबाब थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ ।’

साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा झाँक्री रिहा हुनुभएको थियो ।प्रहरीको सोधपुछमा भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सधैं सम्मान रहेको र आगामी दिनमा पनि रहने जानकारी गराउनुभएको छ । प्रहरीसमक्ष झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताउनुभएको थियो ।माघ १६ गते गोरखामा भएको एक कार्यक्रममा उहाँले ‘विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो’ भन्दै राष्ट्रपतिको कडा आलोचना गरेपछि उहाँलाई पक्राउ गर्न दबाब बढेको थियो । सो अभिव्यक्तिलाई लिएर ओली समूहका महिला नेतृहरुले आपत्ति जनाउँदै झाँक्रीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।नागरिकले बोल्न पाउने अधिकारको हनन भएको भन्दै राजनीतिक दल र नागरिक समाजका व्यक्तिहरुले सरकारको चर्को आलोचना गरेका थिए । झाँक्रीलाई प्रहरीले अपराध संहिताको राज्यविरूद्धको कसूरअन्तर्गत दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको थियो ।प्रतिनिधिसभा विघटनविरुद्धमा गोरखामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले राष्ट्रपतिलाई बडामहानरीको संज्ञा दिँदै शीतल निवास छोडेर निर्वाचनमा आउन चुनौती दिनुभएको थियो । झाँक्रीले आफूहरुले टाउको फुटाएर ल्याएको गणतन्त्र र संविधानमाथि एउटा गुटको स्वार्थमा राष्ट्रपतिले प्रतिगमनकारी कदम चालेको बताउनुभएको थियो ।

उक्त अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झाँक्रीलाई पक्राउ गरेको नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । झाँक्री पक्राउ परेपछि सर्वत्र विरोध भएको छ । प्रचण्ड–माधव समूहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो– ‘झाँक्रीलाई पक्राउ गरेर सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उठाएको छ, यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’ लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै उहाँले झाँक्री पक्राउको घोर निन्दा गर्नुभयो ।
फोटो
झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको प्रहार : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । उहाँले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताउनुभयो । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखररुपमा बोल्नुभयो भनेर पक्राउ गरियो, यो लोकतन्त्रमाथिको आक्रमण हो।’ –प्रचण्डले भन्नुभयो । ओलीले लोकतन्त्रमाथि ताला लगाउने काम शुरु गरेका छन् भन्दै प्रचण्डले आन्दोलनको बलबाट ओली प्रवृत्ति परास्त हुने बताउनुभयो ।
फोटो

सरकारको अधिनायवादी चरित्र उदांगो भो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताउनुभएको छ । उहाँले झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भएको बताउनुभयो । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गर्नु गलत भएको बताउँदै पौडेलले भन्नुभयो– ‘हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन ।’
फोटो
सरकारको अधिनायकवादी कदम : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने ठोकुवा गर्नुभयो । अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको बताउँदै उहाँले भन्नुभयो– ‘नागरिकको बोल्न पाइने अधिकारलाई कुण्ठित गर्न पाइँदैन ।’
बक्स
वर्षगाँठ मनाउने दिन नै पक्राउ
बिहीबार नै नेता झाँक्रीको जीवनको दोस्रो अध्याय शुरु भएको दिन थियो । आजभन्दा ठीक ११ वर्षअघि झाँक्री र पशुपति पुरीबीच विवाह भएको थियो । बिहानै झाँक्रीले विवाह भएको फोटोसहित फेसबुकमा पोस्ट गर्नुभएको थियो । एकाबिहानै झाँक्रीले फेसबुकमा ११औं वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्दै श्रीमान् पशुपति पुरीसँगको फोटो हाल्दै लेख्नुभएको थियो– ‘सोचेजस्तो हुन्न जीवन भन्ने थाहा छ । तिमी आयौ जिन्दगीमा यसै आहा छ ।’ तर यो पोस्ट गरेको केही समयमा नै प्रहरी घरको ढोका ढकढक्याउन आइपुग्यो ।
रिहा हुनुअघि हिरासतबाटै अन्तिम लडाइँको घोषणा गरेकी झाँक्रीले भन्नुभएको थियो– ‘राज्यविरुद्धको कसूरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान महाशाखा मीनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।’
फोटो
विद्या र ओलीलाई प्रश्न गर्न किन नपाइने ? : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिको गलत कदमविरुद्ध दिनहुँ बोल्ने बताउनुभएको छ । उहाँले सरकारले नागरिकको हक अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको बताउँदै सत्यको पक्षमा दृढतापूर्वक बोल्ने बताउनुभयो ।नेता थापाले भन्नुभयो– ‘संविधानले नागरिक अधिकार दिएको छ, नागरिकले बोल्दा राज्य विप्लव हुने भए हामी सबैको विरुद्ध राज्य विप्लवको मुद्दा लगाउन तयार हुनुपर्छ ।’ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मै राज्य हुँ भन्ने अहिले दम्भ देखाइरहेको बताउँदै उहाँले संविधानले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रश्न गर्ने अधिकार दिएको बताउनुभयो ।

राजालाई प्रश्न गर्न पाइन्न भनेर अहिलेको व्यवस्था ल्याइएको बताउँदै थापाले प्रश्न व्यक्तिमाथि भन्दा पनि प्रवृत्तिमाथि रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले कान खोलेर सुनोस्, सरकारको गलत कामको विरोध हुन्छ, प्रश्न गरिन्छ, हजारौं मानिसले प्रश्न गर्छन्, कतिलाई समाप्ने?’ अहिले रामकुमारी झाँक्री पक्राउ गरेर सरकारले गलत काम गरेको बताउँदै थापाले गलत कदमको आगामी दिनमा पनि सशक्तरुपमा प्रतिवाद गरिने चेतावनी दिनुभयो । कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने कदम गलत भएको बताउँदै उहाँले सरकारले बोलेकै आधारमा नागरिक पक्राउ गर्ने हो भने झ्यालखानाको संख्या थप्न चेतावनी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्