विद्यार्थी नेताको स्मृतिमा सञ्चारकर्मीको ५० हजार



रामधन राई, खोटाङ ।

माघ–२९, खोटाङका बिद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानका लागि सञ्चारकर्मी हरिवोल आचार्यले नगद ५० हजार रुपैंयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । २०७३ माघ २७ गते भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनामा निधन भएको रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका विद्यार्थी नेता राईको चौथो स्मृति दिवसको अवसरमा अक्षयकोष स्थापनार्थ आचार्यले उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

अनेरास्वबियुका तत्कालिन केन्द्रीय सदस्य स्वर्गीय राईको स्मृतिमा स्थापित प्रतिष्ठानले खडा गर्न लागेको अक्षयकोषका लागि हलेसी न्युज नेटवर्क प्रालिका सञ्चालक आचार्यले रकम प्रदान गर्ने घोषणा गर्नुभएको प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ राईले जनाउनुभयो ।

१० लाख रुपैंयाँभन्दा बढी रकमको स्वर्गीय मिलन राई स्मृति अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालयवाट एसईई परीक्षामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई बर्षेनी पुरस्कृत गर्ने प्रतिष्ठानको तयारी छ । यसअघि अक्षयकोषको लागि १ लाख रुपैंयाँ बढी रकम संकलन भईसकेको बताईएको छ ।

प्रतिष्ठानले राई निवास नजिकै स्मृति पार्क समेत निर्माण गरिरहेको अध्यक्ष राईले उल्लेख गर्नुभयो । स्वर्गीय राईले छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मार्नुभएको थियो । राईलाई कुशल नेतृत्व लिन सक्ने राजनीतिक संगठक मान्ने गरिएको बिद्यार्थी नेताहरु बताउँछन् ।

संगठनकै काममा काठमाण्डौंबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटना भएको थियो । प्रतिष्ठानले राईको स्मृतिमा बर्षेनी कार्यक्रम तथा सामाजिक गतिविधि गर्दै आएको छ । यो वर्ष ललितपुरस्थित हात्तिवनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । यसअघि राईको स्मृतिमा पुस्तक समेत प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्