देशमै दोस्रो ‘बालमैत्री’ बन्यो मकवानपुरको बकैया



न्युज अफ नेपाल,हेटौंड ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका देशमा दोस्रो ‘बालमैत्री’ घोषणा भएको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने जिल्लाको पहिलो गाउँपालिका बनेको थियो । बकैयामा एक सय १३ वटा बाल समूह गठन तथा बालसञ्जाल गठन गरेर एक हजार सात सय ३२ जना बालबालिकालाई समेटिएको छ । पालिकामा करिब १७ हजार बालबालिका रहेको तथ्यांक छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नुभएको हो । पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाई दिँदै घोषणाअनुसार कार्यमा निरन्तर लागिपर्न आग्रह गर्नुभयो । बालमैत्री सूचकभित्र बालबचाऊ, बालसंरक्षण, बालविकास र बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले पालिकाका सबै पक्षले यसलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रुपमा बालबालिकाको हितमा लाग्नुपर्ने बताउनुभयो । ‘हरेक कुरा बालमैत्री हुनुपर्छ, घरमा खानेपानीको धारादेखि सबै विकास, निर्माण बालबालिकालाई सजिलो र उपयुक्त हुनेगरी गरिनुपर्छ,’ मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशलाई बालमैत्री बनाउने तयारीमा अघि बढेको बताउनुभयो । प्रदेश सरकार २०७८ सम्म बालविवाहमुक्त प्रदेश बनाउने र २०८० सम्म प्रदेशलाई बालमैत्री बनाउने तयारीमा अघि बढेको उहाँले बताउनुभयो ।

बिहीबार घोषणा कार्यक्रममा बागमती प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले बधाई दिँदै घोषणाअनुसार कार्यमा निरन्तर लागिपर्न आग्रह गर्नुभयो । दोस्रो गाउँपालिका घोषणा हुनुमात्र सफल भएको भन्ने ठान्न नहुने भन्दै निरन्तर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले घोषणा हुँदै गर्दा जिल्ला समन्वयले अनुगमन गर्दा पालिकाले सबै सूचक पूरा गरेको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरको बैठकले बकैयाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम पालिकाका १२ वटा वडा बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यान्वयन घोषणा प्रक्रियामा विगतदेखि नै कार्य गर्दै आएको र बालमैत्री स्थानीय तह हुनका लागि तोकिएको मापदण्ड तथा संस्थागत व्यबस्थाहरु पूरा गरेको प्रतिवेदनका आधारमा अनुगमन गर्दा पालिकाका सम्पूर्ण वडा तथा पालिकासमेतबाट निर्धारित सूचक तथा मापदण्ड पूरा गरेको पाइएकोले घोषणाको अनुमति दिएको हो ।

बकैया गाउँपालिका ३९३.७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । मकवानपुरको दक्षिणपूर्वी भागमा अबस्थित पालिकाको केन्द्र साविकको छतिवन गाविस कार्यालय छ । उक्त तह मकवानपुरका ५ वटा साविकका गाविस मिलाएर बनाइएको हो । पालिकाअन्तर्गत् साबिक गाविसमा धियाँल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिकरुपमा बिकट भएकोले आवश्यक पूर्वाधारको अबस्था कमजोर छ । शिक्षा, स्वास्थ्य, गरिबी तथा अन्य सूचक कमजोर देखिन्छन् । तामाङ जातिको उच्चतम् बसोबास उक्त क्षेत्रमा पाउन सकिन्छ ।

पहिलो ‘बालमैत्री’ मनहरीले २०७५ मंसिरदेखि २०७६ पुस २० गतेसम्म १२ वटा बालविवाह रोक्नुका साथै एकसय ९४ बालबालिकालाई निकृष्ट बालश्रमबाट उद्धार गरेको थियो । ४६ हजार आठ सय ५३ जनसंख्या रहेको मनहरीमा १५ हजार सात सय ३९ बालबालिका छन् । पालिकामा २०७०–२०७५ अवधिमा एक हजार दुई सय १६ जनाले बालविवाह गरेका थिए । गाउँपालिकाका वडा–३, ४ र ६ बालविवाहबाट बढी प्रभावित छन् ।

मनहरीमा अभियानका क्रममा ११ जोडीको बालविवाह बदर गरिएको थियो । दर्जनौंको संख्यामा रहेका निकृष्ट श्रममा आश्रित बालबालिकालाई विद्यालय फिर्ता गराइएको थियो । बालमैत्री घोषणापछि बालविवाह र बाल श्रम न्यूनीकरण अभियानलाई अझ सशक्त बनाइएको छ । मनहरी २०७६ पुस २९ गते ‘बालमैत्री’ घोषणा गरिएको थियो ।

नेपालको संविधानमा भएको बालअधिकार सम्बन्धि व्यबस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धि ऐन, २०४८, बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि, नेपालको चौधौं आवधिक योजनालगायत अन्य कानुन, नीति तथा कार्यक्रमले समेत बालअधिकारको समग्र पक्षलाई सम्बोधन गरेको छ ।

नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरेको छ । राज्यको पुनर्संरचना हुँदा स्थानीय तह र प्रदेश सरकारको भूमिकासमेत थप भएको अबस्था र बालमैत्री स्थानीय शासन कार्यान्वयनको अनुभवसमेतलाई आधार मानी बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ मा परिमार्जनसहित बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति, २०७४ कार्यान्वयनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्