प्रचण्ड अधिनायकवादी नेता हुन् : महेश बस्नेत



यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले केपी ओली लोकतन्त्रका र प्रचण्ड अधिनायकवादका नेता भएको आरोप लगाउनु भएको छ । नेकपा ओली समुहले यही फागुन १ गते बुटवलमा आयोजना गर्ने जनसभाको पूर्वसन्ध्यामा बिहिबार बुटवलमा प्रदर्शन गरिएको मोटरसाईकल -यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा संघका ईञ्चार्ज समेत रहनु भएका बस्नेतले प्रचण्ड, माधव नेपाल तिर लागेका नेता कार्यकर्तामा विचलन, कुण्ठा निराशा र डिप्रेसनको समस्या समेत देखिएको आरोप लगाउनु भयो ।

उहाँले प्रचण्ड–माधव समुहलाई कोर्ष करेक्सन गरेर जान समेत आग्रह गर्नुभयो । उहाँले अहिले पार्टी छोडेर गएपनि फर्केर आउने ठाउँ यही भएकोले ठाउँ राखेर जान आग्रह गर्नुभयोे । उहाँले सभा कस्तो हुन्छ बुटवलमा हेर्न आउने समेत प्रचण्ड, माधव नेपाललाई आग्रह गर्नुभयो ।

केपी ओलीले आयोजना गर्ने सभाहरु खाली हुन्छन भन्ने प्रचण्ड माधव नेपालले आकलन गरेको बताउँदै उहाँले देशभरीका युवाहरु प्रधानमन्त्री ओलीले अंगाडी सारेको राष्ट्रियता, बिकास र समृद्धिको पक्षमा खुलेर लागेपछि उनीहरुमा विचलन देखिएको बताउनु भएको हो ।

उहाँले नेतृ रामकुमारी झाकीतर्फ लक्षित गर्दै बोल्न नदिने निरंकुशता र बोल्न पाउने कुरा लोकतन्त्र भएपनि बोल्न पाएभन्दैमा छाडा बोल्ने कुरा अराजकता भएकोले त्यसलाई कन्ट्रोल गर्न नेपाल सरकार तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्