नेतृ झाँक्री पक्राउप्रति प्रचण्ड-माधव समूहको कडा आपत्ती, अविलम्ब रिहा गर्न माग



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । नेकपाले नेतृ झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको उक्त समूहले दावी गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले (आज ) बिहीबार विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै झाँक्रीलाई पक्राउ गरिएको भन्दै निन्दा गर्नु भएको छ ।

विज्ञप्तीमा झाँक्रीको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको भन्दै कडा आपत्ती प्रकट गरिएको छ ।लोकतान्त्रिक व्यवस्थामा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गर्नु भएको छ ।

प्रहरीले उहाँलाई आज (बिहीबार) विहान काठमाडौंको शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो । नेकपा केन्द्रीय सदस्य समेत रहेकी नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ पुर्जी दिँदै पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्