माधवनारायणका व्रतालु पशुपतिमा



काठमाडौं । एक महिने माधवनारायण व्रत गरेका व्रतालुहरूले आज शेषनारायण मन्दिरमा बास बस्ने भएका छन् । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि पशुपति आएका हुन् । बुधबार माघकृष्ण चतुर्दशीका दिन बेलुकी पशुपति आएका उनीहरुलाई बिहीबार औंसीका दिन पशुपति दर्शन गराइन्छ । माधवनारायण व्रतालु पशुपति आएको बेला आर्यघाटमा शव नजलाउने चलन रहेको छ ।

माधवनारायणका व्रतालु बुधबार साँझ करिब सात बजेतिर पशुपति आइपुगेका थिए । उनीहरु बिहीबार १०-११ बजे पशुपतिबाट प्रस्थान गर्छन् । उनीहरु पशुपति आएदेखि नफर्किएसम्म आर्यघाटमा शव जलाउन रोकिएको छ । माघ कृष्ण औंसी ‘आज’का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ ।

यसैबीच, सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औंसीको राति बास बस्ने गरिन्छ । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुन्जेल राजाले दर्शन गर्ने गरेकामा हाल कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शंखमूल क्षेत्रमा गर्छन् । माघशुक्ल प्रतिपदाको राति शंखमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ ।विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्