‘गोल मेसिन’ सावित्राको दोहोरो ह्याट्रिक



नेपाल समाचारपत्र, काठमाडौं ।

‘गोल मेसिन’को उपनामले चर्चित सावित्रा भण्डारीले जारी राष्ट्रिय महिला लिगमा अर्को दोहोरो ह्याट्रिक गरेकी छन् ।
बुधबार एन्फा मैदानमा भएको खेलमा भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि उनको टिम नेपाल एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८–० ले हरायो । यो विभागीय टिमको जारी लिगमा लगातार आठौं जित हो । योसँगै एपीएफ २४ अंकसहित शीर्ष स्थानमा डटिरहेको छ । एपीएफलाई पछयाइरहेको अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबको १९ अंक छ ।

खेलको पहिलो मिनेटमै कप्तान अनिता बस्नेतको गोलसँगै एपिएफले अग्रता लिएको थियो । सावित्राले छैटौ्रं मिनेटमा टिमको अग्रता दोब्बर पारिन् भने ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफमा ३–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा ५ गोल गरेर चन्द्रपुरलाई निरास तुल्यायो ।

सावित्राले ४७औं मिनेटमा गोल गर्दै हयाट्रिक पँरा गरिन् । कप्तान अनिताले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ५–० को अग्रतामा पुग्यो । सावित्राले ६०औं मिनेटमा गोल गर्दै टिमलाई ६–० को अग्रतामा राखेकी थिइन् । यसपछि उनले ६२औं मिनेट र ७९औं मिनेटमा गोल थप्दै दोहोरो ह्याट्रिक पँरा गरिन् । अपराजित रहेको एपिएफले लिगको आठौं चरण सकिँदासम्म विपक्षीको पोस्टमा ६५ गोल गरिसकेको छ भने टिमले एक गोल पनि आत्मसात गरेको छैन ।

जारी लिगमा एपीएफ उपाधितिर अग्रसर भएको छ । अहिलेसम्म एक गोल पनि नबेहोरेको एपीएफको कठिन चुनौती भनेको आर्मी नै हो । पहिलो लेगको खेलमा एपीएफले आर्मीलाई २–० को हार आत्मसात गराएको थियो । सबै खेलमा आराम जित निकालेको एपीएफको लागि आर्मीविरुद्धको उक्त खेल कठिन बनेको थियो । सो खेलमा सावित्राले गोल गर्न पनि सकिनन् ।

प्रतिक्रिया दिनुहोस्