‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालनमा



बैतडी, (नेस) ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीका ३ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन आएको छ । जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

उक्त कार्यक्रम सञ्चालन सञ्चालन भएका स्थानीय तहमा रहेका एक एक ओटा विद्यालय छनौट गरि कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । मेलौलीमा मणिलेक मावि,सिगासमा अर्जुन मावि र डिलाशैनीमा दुर्गा माविमा कार्यक्रम सञ्चालनमा छ उहाँले भन्नुभयो,“ एक विद्यालय एक नर्स कार्यक्रमका लागि सम्बन्धित स्थानीय तहले नै एक एक विद्यालय छनौट गरेका हुन् ”एक विद्यालय एक नर्स कार्यक्रमका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम सम्पन्न भएर सञ्चालनमा आएको हो । जनशक्ति व्यवस्थापन तथा खटाउने काम स्वास्थ्य कार्यालयले गरेको हो, उहाँले भन्नुभयो,“ उक्त कार्यक्रममा महिनामा कम्तिमा पनि ४० कक्षा सञ्चालन हुन्छन्” ।

कार्यक्रम सञ्चालन भएका विद्यालयमा एक -एक जना स्टाफ नर्स खटाइएका छन् । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका विभिन्न बिषयमा जानकारी दिइदैं आएको छ ।कार्यक्रम सञ्चालन भएका स्थानीय तहका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धि सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“स्वस्थकर खानपिन, प्राथमिक उपचार, घरेलु हिंसा,यौन शिक्षा लगायतका बिषयमा कक्षामा पढाइ हुन्छ ।”

यसका साथै विद्यालयमा सञ्चालन हुने कक्षामा सरसफाई, कोभिड १९ बाट बच्ने तरीका महिनावारी सरसफाई लगायत स्वास्थ्य सम्बन्धि विभिन्न बिषयमा छलफल हुनेछ ।चालु आर्थिक बर्षबाट शुरु भएको यो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्