१८ हजार किशोरीलाई आइरन फोलिक एसिड खुवाइने



सरिता चलाउने, सल्यान  ।

सल्यानको शारदा नगरपालिकामा १० देखि १९ वर्षभित्रका किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको छ । नगरपालिकाले पालिकाभित्र रहेका १० देखि १९ वर्षमुनिका करिब २ हजार ९ सयभन्दा बढी किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पालिकाभित्रका स्वास्थ्य संस्थाका प्रमुख, नर्स, मावि र आधारभूत तहका विद्यालयका प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिएर आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको स्वास्थ्य शाखाका रवीन विष्टले बताउनुभयो । विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई विद्यालयमार्फत खुवाइने र विद्यालयबाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामार्फत खुवाइने उहाँको भनाइ छ ।

किशोरीहरुमा हुने रक्त अल्पताको कमीका कारणले हुने असरहरु कम गर्नका लागि किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउने विष्टको भनाइ छ, जसमा प्राविधिक सहयोग दलित विकास समाज सल्यानको सुआहारा कार्यक्रमले गरेको सुआहारा कार्यक्रमका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार यसअघि सल्यानका ३ स्थानीय तहमा यो कार्यक्रम सम्पन्न गरिसकिएको छ ।उहाँका अनुसार छत्रेश्वरी गाउँपालिकामा १ हजार ६ सय ९१ जनालाई, कपुरकोट गाउँपालिकामा १ हजार ३ सय ९१ जनाई र कुमाख गाउँपालिकामा ९ सय ७९ जना किशोरीलाई फोलिक एसिड खुवाइसकिएको बताउनुभयो ।

सल्यानका १० वटै स्थानीय तहका करिब १८ हजार ३ सय ८७ भन्दा बढी विद्यालय जाने किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाइने लक्ष्य रहेको छ ।यस वर्ष शारदा नगरपालिकामा पनि शुरु गरिएको उहाँको भनाइ छ । नेपाल सरकारले २०७४-०७५ बाट ८ वटा जिल्लाबाट शुरु भएको कार्यक्रम २०७५-७६ मा ४१ वटा जिल्लामा हुँदै सल्यानमा पनि यो कार्यक्रम शुरु भएको बुढाथोकीको भनाइ छ ।कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले सवै विद्यालयमा आइरन चक्की खुवाइएको बताउनुभयो । उहाँका अनुसार २ हजार छात्राहरुका लागि औषधी पठाइएको भए पनि एकिन विवरण विद्यालयबाट आउन वाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्