९२ वर्षीय वृद्धको वाटर स्किइङमा कीर्तिमान



मोन्ट्रियल, (एजेन्सी) ।

क्यानाडाको ओन्टारियोका एकजना पुरुषले ९२ वर्षको उमेरमा वाटर स्किइङ गरेर गिनिज वल्र्ड रेकर्ड तोडेका छन् । हुन त सन् २०१९ को १९ जुलाईमा नै बोब हचिन्सनले ओन्टारियोको बेल्ला तालमा वाटर स्किइङ गरी नयाँ रेकर्ड राखेका थिए ।

तर, अहिले ९४ वर्ष पुगिसकेका बोबको परिवारले बल्ल गिनिज वल्र्ड रेकर्डका लागि आवेदन दिएको हो । उनलाई पुरुष तर्फको विश्वकै सबैभन्दा पाको उमेरका वाटर स्कियरको लागि गिनिज रिकर्ड उपाधि दिइएको हो । सन् १९४९ मा २३ वर्षको उमेरदेखि नै उनले वाटर स्किइङ गर्दै आएका हुन् ।

जुनबेला वाटर स्कि र डोरी पाउन पनि निकै कठिन हुने गर्दथ्यो । उनी पुराना दिन सम्झँदै भन्छन् – ‘हामी आफैं गाजाको बोटबाट डोरी बनाउने गर्दथ्यौं । दशकौंदेखि मैले स्कुवा डाइभिङ, वाटर क्यानोइंग र हेलिस्किइंग पनि गर्दै आइरहेको छु । दशकौं लामो अनुभव भए पनि अहिले बढ्दो उमेरका कारण वाटर स्किइङ गर्दा अलि हडबडाउने गर्दछु । मेरो परिवारले नै मलाई चुनौती सामना गर्न प्रेरित गर्ने गरेको छ । यस्तो बुढेशकालमा पनि नाति पनातिहरूसामु साहसिक काम गरेर देखाउन पाउँदा निकै आनन्द लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्