पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रारम्भ

सफाइ पाउने करिब निश्चत



वासिङ्टन, (एजेन्सी)  ।

 अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग संवैधानिक भएको महसुस गर्दै सम्पर्ण प्रक्रिया शुरू गर्न अनुमति दिएको छ । तर, ट्रम्पका प्रतिरक्षा टोलीले राष्ट्रपति भवन ह्वाइट हाउस छाडिसकेपछि उनले मुद्दा सामना गर्नुनपर्ने दाबी गरेको छ । ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया जारी राख्ने विषयमा सिनेटमा भएको मतदानमा पक्षमा ५६ र विपक्षमा ४४ मत खसेको छ । केही थोरै रिपब्लकनले मात्र महाभियोगको समर्थन गरेका छन् ।

ट्रम्पलाई गत महिना क्यापिटल भवनमा आफ्ना समर्थकहरू जबर्जस्ती प्रवेश गर्दा सो घटनालाई अझै उक्साउन खोजेको अभियोग लगाइएको हो । गत वर्षको नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको भन्दै हजारौं ट्रम्प समर्थक नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनको विजयलाई औपचारिकता दिने कार्य जारी रहेका बेला युएस क्यापिटल बाहिर जम्मा भएका थिए ।तर, महाभियोग लगाइए पनि ट्रम्पले सफाइ पाउने करिब करिब निश्चितै देखिन्छ । किनभने केवल ६ जना रिपब्लिकन सिनेटरले मात्र महाभियोगलाई सुचारू ग्र्न मतदान गरेका छन् ।

यदि, ट्रम्पलाई महाभियोगमा दोषी प्रमाणितै गर्ने हो भने थप १७ जना रिपब्लिकन सिनेटरको सहमतिको आवश्यक हुन्छ । डेमोक्रेटहरूले गत ६ जनवरीमा ट्रम्पले दिएको विवादास्पद भाषण र उनका केही समर्थकहरूले क्यापिटल भवनमा गरेको डरलाग्दो हुलदंगाको भिडियो हेर्दै महाभियोगको प्रक्रियाको शुरुआत गरेका छन् ।सो घटनामा एकजना प्रहरी अधिकारीलगायत पाँच व्यक्तिको ज्यान गएको थियो । करिब बराबरी अवस्थामा विभाजित रहेको १ सय सिटको सिनेटमा ट्रम्पविरुद्धको महाभियोग प्रमाणित गर्न दुईतिहाइ बहुमतको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्