आफ्नै पाठ्यक्रम तयार पार्दै तमान खोला



बागलुङ । तमानखोला गाउँपालिकालेस्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको छ । स्थानीयस्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, वेषभूषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम तयार गरिने भएको हो। पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको गाउँपालिकाका शिक्षा अधिकारी पुरन घर्तीले बताए ।

पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ । शुरुमा यो पुस्तक कक्षा १ मा पढाइ हुने उनले बताए । यो विषय लागू हुने र त्यसपछि क्रमशः कक्षा ५ सम्म पठनपाठन शुरु गरिने घर्तीले जानकारी दिए ।

हप्ताका चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको पाठ्यक्रम तयारी भइरहेको उनले बताए । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिएर तयार पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्