नेकपा प्रचण्ड–माधव पक्षको जनप्रदर्शन शुरु



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । सो विरोध प्रदर्शनका कारण आज काठमाडौंका केही स्थानमा सवारी आवगमन प्रभावित हुने भएको छ । खासगरी रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

यसअघि पुस १३ र माघ ९ गते काठमाडौंमा नै प्रदर्शन गरिसकेको दाहाल–नेपाल समूहले आजको प्रदर्शनलाई सहभागिताको हिसाबले ‘निर्णाायक’ बनाउने तयारी गरेको छ । ओलीले माघ २३ गरेको प्रदर्शनलाई ‘काउन्टर’ दिने तयारीस्वरूप आजको जनप्रदर्शनमा २ लाखभन्दा बढी मानिस उतार्ने गरी नेताहरू खटिएका छन् ।अहिले काठमाडौंको विभिन्न ठाउँबाट भृकुटी मण्डपतिर जुलुस अगाडि बढीरहेको छ । जुलुसमा भिडले संसद विघटन खारेज गर, संसद पुनस्र्थापना गर, असंवैधानिक कदमको सशक्त प्रतिरोध गरौं, संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गरौं लगायतका नाराहरु लगाएका थिए ।

शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता आज निस्कने पाँच ठाउँको जुलुसको नेतृत्वमा हुनेछन् । भृकुटीमण्डपमा मध्याह्न हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।सभालाई सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका अलावा महिला, मधेशी र जनजातिले समावेशी प्रतिनिधित्वको आधारमा सभालाई सम्बोधन गर्ने भएका छन् ।

सभालाई अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघुजी पन्त लगायतले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्