सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा आजबाट पुनः बहस सुरु



न्युज अफ नेपाल ,काठमाडौं ।

आजबाट पुनः संसद विघटनविरुद्धका रिटमा बहस सुरु हुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमिकस क्युरीले आफ्नो राय दिने छ ।

प्रतिक्रिया दिनुहोस्