रहेनन् राजीव



बलिउड निर्देशक, निर्माता तथा अभिनेता राजीव कपुरको मंगलवार हृदयघातका कारण निधन भएको छ। राती एक बजे चेम्बुरस्थित निवासमै हृदयघात भएपछि अभिनेता रणवीर कपुरसहितका परिवारका सदस्यले चेम्बुरकै इन्लयाक्स अस्पतालमा उपचारका लागि लगे पनि अस्पताल भर्ना हुन नपाउँदै डक्टरहरुले ५८ वर्षीय उनलाई मृत घोषणा गरेका थिए।

उनी अभिनेता स्व. ऋषि कपुरका कान्छो भाइसमेत हुन्। गत साल मात्र ऋषि कपुरको क्यान्सरका कारण भएको निधनको शोक सकिन नपाउँदै राजीवको पनि हृदयघातका कारण निधन भएपछि उनको घर परिवार तथा बलिउड फिल्म नगरी शोकमा डुबेको छ। राजीवले सन् १९८३ मा फिल्म एक जान हे हममार्फत बलिउडमा डेब्यु गरेका थिए भने राम तेरी गंगा मैली नामक फिल्ममा मुख्य भँमिकामा काम गरेका थिए।

आसमान लवर ब्वाई, जबरजस्त, हम तो चले परदेश जस्ता फिल्ममा काम गरेका उनले अभिनयमार्फत खासै पहिचान भने बनाउन सकेका थिएनन्। फिल्म प्रेमग्रन्थको निर्देशन गरेका राजीवले अब लौट चले, हेन्ना तथा प्रेमग्रन्थ नामक फिल्म निर्माण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्