विभागीय टिमलाई सफलता



नेपाल समाचारपत्र, काठमाडौं ।

दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई मंगलबार जारी राष्ट्रिय महिला लिग फुटबलमा सफलता मिलेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले हराउँदा पुलिसले विराटनगर महानगरपालिका मोरङलाई ३–० ले पराजित ग¥यो । आर्मीले यो जितसँगै ८ खेलबाट १९ अंक लिएर शीर्ष स्थानको नेपाल एपीएफ क्लबसँग दँरी २ अंकमा छोट्याएको छ । त्यस्तै, पुलिसको ११ अंक भएको छ । तर, पराजित वालिङको ११ अंक भएपनि गोलभिन्नतामा पुलिसभन्दा अघि रहेको छ ।

आर्मीको जितमा शर्मिला थापाले एक गोल गरिन् भने अर्को गोल आत्मघातीको थियो ।शर्मिलाले खेल शुरू भएको लगतैमा गोल गरेर आर्मीलाई १–० को अग्रतामा राखेकी थिइन् । उनले इन्दिरा राईको पास सदुुुपयोग गरेकी थिइन् । ४३ औं मिनेटमा वालिङकी पुष्पा गुरुङले आफ्नै पोस्टमा गोल गर्न पुगिन् र आर्मीको अग्रता दोब्बर भएको थियो । यसपछि दुवैतर्फ गोल भएन र आर्मीले ३ अंक जोड्न सफल भएको थियो ।

अर्को खेलमा पुलिसलाई जित दिलाउन निरू थापाले दुई गोलको योगदान दिइन् । निरुले ५७ औं मिनेट र ६० औं मिनेटमा गोल गर्दै पुलिसको जित पक्का गरेकी थिइन् । यसअघि, निर्मला उपाध्यायले ४१औं मिनेटमा गोल गरेर पुलिसलाई १–० को अग्रतामा राखेकी थिइन् । यो जितसँगै पुलिसले विराटनगरविरुद्ध पहिलो लेगमा १–० को हार बेहोरेको बदला पनि लियो ।

प्रतिक्रिया दिनुहोस्