एसिडपीडितलाई प्रदेश सरकारको रोजगारी



नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडामा तेस्रो राष्ट्रिय ‘बेटी’ सम्मेलन शुरु भएको छ । मूलधार महिला सेवाकेन्द्रको आयोजनामा ‘लैंगिक विभेद बुझिदेऊ : हिंसा होइन खुसी देऊ’ भन्ने नारासाथ मंगलबार तेस्रो बेटी सम्मेलन शुरु भएको हो ।सम्मेलन उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एसिड प्रभावित महिलालाई बागमती प्रदेश सरकारले रोजगारी दिने उद्घोष गर्नुभयो । एसिड प्रभावितलाई उनीहरुको शैक्षिक योग्यताका आधारमा रोजगारी दिइने उहाँले स्पष्ट पार्नुभएको हो ।

महिला अधिकारका पक्षमा आफू निरन्तर लागिपरेको भन्दै महिलाको अपमान गर्नु भनेको आफूले आफूलाई कमजोर बनाउनु रहेको उहाँले बताउनुभयो । केही समय महिलाका लागि आरक्षण दिए पनि सधैं आरक्षणमा भन्दा पनि सक्षम बनेर प्रतिस्पर्धामा आउन उहाँले सुझाउनुभयो । महिलाहरु उत्पादनसँग जोडिनुभन्दा पनि पति र छोराछोरीसँग आश्रित हुँदा पछाडि पारिएको उहाँको दाबी छ ।पौडेलले महिलाले आफूले आफूलाई कहिल्यै कमजोर ठान्न नहुने र संविधानले पनि अनिवार्यरुपमा महिला उपस्थितिका लागि स्थानीय तहमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेकाले महिलाले आफ्नो क्षमता देखाउने समय आएको बताउनुभयो ।उहाँले महिलाले उत्पादन गरी आफू आत्मनिर्भर हुनसके कसैले नहेप्ने र सरकार पनि यस विषयमा संवेदनशील भएको दाबी गर्नुभयो । पौडेलले सिंहदरबारमात्र नभएर सबै तहमा सरकार रहेको हँुदा अझ सहज हुने वातावरण मिल्ने सुझाउनुभयो ।

कञ्चरपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पत्ता लगाउन जिम्मेवार निकाय मौन बसेको र भर्खर बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की भागरथी भट्टको हत्या प्रकरण शुरु भएको बेला हेटौंडामा उनीहरु जस्ताका लागि समर्पित ‘बेटी’ सम्मेलन शुरु भएको हो ।सम्मेलनमा वीरगन्ज–३ को छपकैयाबाट वीरगन्ज–६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा वीरगन्ज–४ को बिर्तास्थित गणेशमानचोकमा १५ वर्ष उमेरमा एसिड प्रहार भएकी मुस्कान खातुनले त्यस बेला हालको जस्तो कानुन भएको भए यस अवस्था नआउने बताउनुभयो । ‘म किन लुकेर बस्नु, मैले कुनै अपराध गरेको छैन । जसले अपराध गरेको हो, ऊनै लुकेर बस्छन्’ भन्दै उहाँले आफूले कहिल्यै हिम्मत नहार्ने बताउनुभयो ।

२०७० सालमा नेपालमै पहिलोपटक एसिड आक्रमणमा पर्नुभएकी हेटौंडाकी विन्दाबासिनी कंसाकारले सरकाले एसिडपीडितको उपचारका लागि गरेको प्रतिबद्धता ढिला भइरहेको स्मरण गराउँदै समयमै उपचार नपाउँदा छाला बिग्रँदै जाने खतरा रहेको बताउनुभयो। उहाँले उपचारको काम चाँडोभन्दा चाँडो शुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।कंसाकारले अनुहारले आफूलाई नचिनाउने र आफूले के गर्न सकिन्छ, त्यो नै सबभन्दा ठूलो कुरा भएको भन्दै आफू कहिल्यै पछि नहटी एसिडपीडितलाई सहयोग गर्ने उद्घोष गर्नुभयो ।
सम्मेलनमा पूर्वराज्यमन्त्री करिमा बेगम, काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी, हेटौंडा उपमहानगर उपप्रमुख मीनाकुमारी लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीको एकता गर्ने उद्देश्यले हेटौंडामा राष्ट्रिय बेटी सम्मेलन शुरु गरिएको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कुप्रथाविरुद्ध र लैंगिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नारासाथ सम्मेलन गरिएको सम्मेलन मूल आयोजक कमिटी संयोजक नजबुल खानले जानकारी दिनुभयो ।देशभरबाट १ सय जनाको प्रतिनिधिमूलक सहभागिता रहेको सम्मेलनमा ७५ प्रतिशत महिला छन् । यसअघि प्रदेश–१ मा पहिलो बेटी सम्मेलन र प्रदेश–२ मा दोस्रो बेटी सम्मेलन भइसकेको छ ।

राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवाकेन्द्र उदयपुरको आयोजनामा २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश–१ को उदयपुर गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार : शिक्षा र स्वास्थ्यलाई बनाऔं चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नारासाथ प्रथम राष्ट्रिय बेटी सम्मेलन भएको थियो ।२०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश–२ को जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढौं : मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौं’ भन्ने मूल नारासाथ दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्