कांग्रेस संविधानको रक्षामा बढी चिन्तित: बालकृष्ण खाँण



बुटवल, (नेस)  ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले केपी शर्मा ओलीले संसद् विघटन गरी आह्वान गरेको निर्वाचनलाई अवसरका रूपमा होइन, कांग्रेस संविधानको रक्षामा बढी चिन्तित रहेको बताउनुभयो ।

संविधानलाई रक्षा गर्ने कांग्रेसको काँधमा जिम्मेवारी आएको उहाँले बताउनुभयो । नेता खाँणले ओलीले प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकूलको काम गर्न थालेको आरोप लगाउँदै अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाउने कार्यमा ओली लागेको बताउनुभयो ।लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले मानव अधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ, नगर, पालिकास्तरीय क्षेत्रमा विभिन्न विरोधका कार्यक्रम गरेको र आगामी फागुन ३ गते ७७ वटै जिल्लामै विरोध कार्यक्रम गरिने उहाँले बताउनुभयो । सरकारले गरेको निर्णयलाई सच्याउनुपर्ने कांग्रेसको धारणा रहेको उहाँको भनाइ रहेको छ ।

संसद् विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधानअनुसार नै उचित निर्णय गर्ने हामीले आशा र भरोशा गरेका छौं, न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मतरुपमै गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्