कांग्रेस निर्वाचन होइन, संविधानको रक्षामा बढी चिन्तित छ : नेता खाँण



यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले केपी शर्मा ओली संसद विघटन गरि आह्वान गरेको निर्वाचनलाई अवसरका रूपमा होइन,कांग्रेस संविधानको रक्षामा बढी चिन्तित रहेको बताउनु भयो ।संविधानलाई रक्षा गर्ने कांग्रेसको कांधमा जिम्मेवारी आएको उहाँले बताउनु भयो ।

नेता खांणले ओलीले प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकुलको काम गर्न थालेको आरोप लगाउदै अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेको बताउनु भयो । लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खांणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको दावि गर्नु भयो ।

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ, नगर, पालिकास्तरीय क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमहरु गरेको र आगामी फागुन ३ गते ७७ वटै जिल्लामै विरोध कार्यक्रम गनिे उहाँले बताउनु भयो । सरकारले गरेको निर्णयलाई सच्याउनुपर्ने कांग्रेसको धारणा रहेको उहाँको भनाइ रहेको छ ।

‘संसद विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्ने हामीले आशा र भरोशा गरेका छौं, न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मत रुपमै गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ, ’उहाँले भन्नु भयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्