पनौती नगरपालिकाले वेवास्ता गरेको गोरखनाथमा चन्दाबाटै गणेश मुर्ति स्थापना



न्युज अफ नेपाल, काभ्रे ।

पनौती नगरपालिकाको एतिहासिक धार्मिक स्थल गोरखनाथ मन्दिर परिसरमा स्थानिय बासिहरुको सक्रियतामा गणेश मुर्ति स्थापना भएको छ । पनौति नगरपालिकाको कुनै सहयोग विना नै स्थानिय बासिहरुले चन्दा संकलन गरेरै पञ्चधातुद्धारा निर्मित ९ फिट अग्लो गणेशको मुर्ति स्थापना गरेका हुन ।

गोरखनाथ मन्दिर परिसरमा गणेशको मन्दिर स्थापनाको लागि गतवर्ष नै स्थानिय बासिहरुले ‘पञ्चधातुद्धारा निर्मित ९ फिटको गणेशको मुर्ति निर्माण समिति’ गठन गरि सक्रिय भएका थिए । यो समितिको सक्रियतामा एकवर्षको अवधिमा झण्डै साढे ४४ लाख रुपैया चन्दा संकलन भएको थियो ।

समितिका अध्यक्ष रामकुमार बस्नेतका अनुसार पञ्चधातुद्धारा निर्मित गणेशको मुर्ति लोकप्रिय ह्याण्डीग्राफ उद्योग बज्रबाराहीले बनाएको हो । यो मुर्ति गत पौष २८ गते नै पनौती भित्राइएको थियो । मुर्तिको विधिवत रुपमा प्राण प्रतिस्थापन गर्न भने बाकी छ । निर्माण समितिका अध्यक्ष बस्नेतका अनुसार विभिन्न चुनौतिका बाबजुत पनि गणेशको मुर्ति स्थापना भएपछि पनौतिमा धार्मिक पर्यटकको संख्या अझ बढ्ने छ ।

पनौतीमा लाग्ने मकर मेलामा आउने भत्तजनहरु समेत त्रिवेणी घाटको जल चढाउन अनिवार्य गोरखनाथ मन्दिर पुग्ने गर्छन । हरेक १२ वर्षमा लाग्ने मकर मेला २०७८ को माघ महिनाभरी लाग्नेछ । निर्माण समितिका सचिव हरिशरण कार्कीका अनुसार गणेशको मुर्ति स्थापना भएपनि रिटाइलिङ वाल, फ्लोरिङ, ल्याण्ड स्केपिङ, गार्डेनिङ लगाएका कामहरु गर्न बाकि छ ।

निर्माण समितिका कोषध्यक्ष कुमार बोगटीले जानकारी दिए अनुसार पञ्चधातुद्धारा निर्मित गणेशको मुर्तिकोमात्र १८ लाख रुपैया परेको छ । निर्माण समितिले गतवर्ष गोरखनाथ मन्दिरमा गणेशको मुर्ति स्थापनाको लागि रकम संकलनार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महयज्ञ गरेको थियो । मुर्ति निर्माणको लागि पनौति नगरपालिकाले एक पैसा सहयोग नगरेपनि स्थानिय बासिहरुको सक्रियतामा चन्दा संकलन गरि लाखौ रुपैयाको कार्य सम्पन्न हुनु जिल्लामै उदाहरण बनेको स्थानियहरु वताउछन् ।

पौराणिक कथन अनुसार पनौतिको गोरखनाथ डाडालाई डोलागिरि पर्वत पनि भन्ने गरिन्छ । स्थानिय बासिन्दा ८४ वर्षिय ओत वहादुर खड्काका अनुसार हनुमानले लक्ष्मणलाई बचाउन सञ्जीवनी बुट्टी ल्याएको पर्वतको एक टुक्रा खसेर बनेको डोलागिरि पर्वतमा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा गोरखनाथ मन्दिर स्थापना गरेपछि गोरखनाथ डाडा भन्ने चलन भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्