भर्चुअल बाल नाटक महोत्सव हुने



शैली थिएटरले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव यसपटक फरक शैलीमा हुने भएको छ। रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा १२औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल रुपमा गर्न लागिएको हो।

कोभिडका कारण अझै पनि थिएटरसम्म बालबालिका ल्याएर नाटक मञ्चन गर्ने वातावरण नभएकाले भर्चुअल नाटक महोत्सव गर्न लागेको थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी गराए। कोभिडका कारण यसपटक महोत्सव गर्ने वान गर्ने भन्ने दुविधाको बीच भर्चुअल माध्यमबाट महोत्सव गर्ने निष्कर्षमा पुगेको उनले बताए।

बुढाथोकीका अनुसार महोत्सवमा भाग लिन बालबालिकासँग सम्बन्धित कथामा, बालबालिका वा वयस्क सबैले अभिनय गर्न पाउनेछन्। त्यसका लागि १५ देखि ४५ मिनेटको नाटकको भिडियो खिचेर पठाउनुपर्ने, सम्पादन नगरिएको, एक सटमा लिएको भिडियोमा, बढीमा दशजनासम्म कलाकार राख्नपाइने अथवा एकजना कलाकार मात्र राखेर सोलो नाटक पनि पठाउन सकिने उनले बताए।

फागुनको अन्तिम हप्ता हुने महोत्सवका लागि फाल्गुन १५ गतेभित्र प्राप्त भिडियोलाई प्रतियोगितामा समावेश गरिने शिल्पीले जनाएको छ। प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद १५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्