सीमावर्ती बजारमा भारतीय चिठ्ठाको बिगबिगी

स्थानीय प्रशासन मूकदर्शक



Indian trucks loaded with goods are seen parked near the India-Nepal border at Panitanki on November 5, 2015. Nepalese police have tried to forcibly break up a border blockade on the Nepalese side of the border that was set up by activists angry over a new constitution, which has led to crippling fuel shortages and cut off access to other vital supplies in the landlocked Himalayan nation. AFP PHOTO/Diptendu DUTTA (Photo credit should read DIPTENDU DUTTA/AFP/Getty Images)

उत्तम नेपाल, भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा झापाको सिमावर्ती बजारमा छ्याप्छ्याप्ती बिक्री भएको पाइएको छ । भारतबाट सीमावर्ती क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्न आउने, कवाडीका सामान संकलन गर्ने, लागूऔषध बिक्रीकर्ता, तस्करीमा संलग्नलगायतले अबैध चिठ्ठा भित्र्याएर बिक्री गर्ने क्रम बढ्दै गएको हो ।

सीमावर्ती क्षेत्रमा बिभिन्न पेसामा संलग्न भएकाहरुले समूह नैं बनाएर चिठ्ठा खरिद गरी खेल्ने क्रम बढेको छ । सीमावर्ती क्षेत्र भद्रपुर र चन्द्रगढी बजारमा १० रुपियाँदेखि दुई सय रुपियाँसम्मका चिठ्ठा आजकल खुलेआम बिक्री भइरहेका छन् । चिठ्ठा समय तोकेरै मध्यान्न १२ बजे, अपराह्न ४ बजे र वेलुका ८ बजे खुलाउने गरिएको छ । बिशेष गरी भद्रपुर बजारस्थित मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर कम्प्लेक्स, सब्जी लाइन, सुन पसल, बसपार्क, गिरी चोक र चन्द्रगढीको सुन लाइनमा भारतीय चिठ्ठाको खरिद बिक्री हुने गरेको एक स्थानीय व्यापारीले जानकारी दिए ।

भारतको बङ्गाल राज्यमा सञ्चालित चिठ्ठा अबैधरुपमा संचालन हुन थालेपछि केही नेपाली परिवारको आर्थिक अवस्था चौपट हुन थालेको छ । चिठ्ठा कागज लिएपछि लाखौं रुपैयाँ पर्ने लोभमा सर्वसाधारण नेपालीले दैनिक मजदुरी गरेको रकम फसाउन थालेपछि कतिपय परिवारमा लाउनखानको समस्या हुँदै गएको छ । घरायसी झगडा पनि बढ्दै गएको छ ।उता नेपालमा अवैध चिठ्ठाहरु बिक्री गर्न दिनभर केही मानिसहरु व्यस्त देखिए पनि प्रहरी प्रशासन भने मूकदर्शक देखिएको छ । वेलाबखत प्रहरीले नियन्त्रणमा लिएझैं गरे पनि लेनदेनको कुरा मिलाएर कारोबारीलाई छोड्ने गरेको स्थानीयबासीले गुनासो गरेका छन् । भद्रपुरमा चिठ्ठा खेल्ने खेलाउने क्रम पटक–पटक दोहोरिए पनि पक्राउ परेकाहरु प्रहरीकै संरक्षणमा छुट्ने गरेकाले कारोबारले निरन्तरता पाएको एक स्थानीबासीले गुनासो गरे । केही दिनअघि वडा प्रहरी कार्यालय भद्रपुरले स्थानीय दुइ युवालाई चिठ्ठासहित भद्रपुर बजारबाट नियन्त्रणमा लिएको थियो । तर उनीहरुबाट ३० हजार घूस लिएर छोडिएको स्थानीयबासीको दावी रहेको छ ।

यता चिठ्ठा खेलाइने सम्बन्धमा अहिलेसम्म पीडित व्यक्तिबाट लिखित उजुरी नैं नपरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले प्रतिक्रिया दिनुभएको छ । उजुरी परेमा कानुन व्यवसायीसँग परामर्श लिएर कारबाही प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । दोषी भेटेसम्म पक्राउ गरिरहेको उहाँले दावी गर्नुभयो । चिठ्ठाको विषयमा प्रहरीलाई गुनासो आएपछि भद्रपुर बसपार्कबाट चिठ्ठा बेचिरहेका भारतको बङ्गालका २२ वर्षीय मोहमद समिरलाई नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिनुभयो ।अबैध चिठ्ठा प्रशासनले नदेखेझै गरिरहेको गुनासो छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले प्रहरीलाई तुरुन्त जानकारी गराए शिघ्र कानुनी कारबाही गरिने प्रतिक्रिया दिनुभएको छ ।

चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारले अनुमति दिएकोबाहेक कसैले चिठ्ठाको खरिदबिक्री गर्ने काम गर्न वा गराउन नपाउने उल्लेख गरिएको छ । अबैधरुपले चिठ्ठा खेलाइए ६ महिनासम्मको कैद र सम्पत्ति जफतसम्मको ब्यवस्था कानुनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्