कानुन पालनामा अटेरी स्थानीय तह 

विकासका नाममा वन क्षेत्रको दोहन



नेपाल समाचारपत्र, भक्तपुर  ।

भक्तपुर जिल्लामा विकासका नाममा वन क्षेत्रको दोहन भएको भन्दै डिभिजन वन कार्यालय भक्तपुरअन्तर्गत चौमासिक वन सुरक्षा तथा समन्वय बैठकले चिन्ता र चासो व्यक्त गरेको छ ।बैठकले भक्तपुरका चारवटै स्थानीय तहलाई नेपाल सरकारको स्वीकृति लिएर मात्र वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालले वन क्षेत्रको जग्गा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सञ्चालनबाहेक नेपाल सरकारको निर्णय नलिई कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाउने कानुनी व्यवस्था रहेको भए पनि स्थानीय तहले त्यसको पालना नगरेको बताउनुभयो ।उहाँले भक्तपुर जिल्लाभित्रका वन क्षेत्रमा बिनास्वीकृति बाटोघाटो, खेलकुद मैदान, बसपार्क, अस्पतालजस्ता भौतिक संरचना निर्माण गर्दै आएको हुँदा स्थानीय सरकारलाई नेपाल सरकारको स्वीकृति लिएर मात्र मात्र वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वन क्षेत्रको संरक्षण र कानुन कार्यान्वयनका लागि कठोर र निर्ममतापूर्वक प्रस्तुत हुने बताउनुभयो ।

उहाँले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाबाहेक अन्य सन्दर्भका गैरकानुनीरुपका वन विनाश रोक्ने दृढता व्यक्त गर्दै स्थानीय सरकारसँग समन्वय र छलफल गर्दै वन कार्यालयले काम गर्नुपर्ने बताउनुभयो ।बैठकले वन क्षेत्रको अतिक्रमण नियन्त्रणका लागि विगत वर्षहरुमा जस्तै जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह र वन कार्यालयको संयुक्त पहल, समन्वय तथा सहकार्यमा डिभिजन वन कार्यालयबाट लगत लिई वन अतिक्रमण नियन्त्रण गर्ने निर्णय गरेको छ ।आउँदै गरेको सुख्खायाममा वन डढेलो लाग्ने प्रबल सम्भावना हुने हुँदा नागरिक समाज र सामुदायिक वन उपभोक्ता समूहसमेतको संयुक्त पहल कदमीमा वन डढेलो रोकथाम तथा नियन्त्रण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।वन तथा वन्यजन्तुको अवैध ओसारपसार तथा चोरी नियन्त्रणका लागि सबै सरोकार निकायले आपसी समन्वयमा प्रभावकारी ढंंगले काम गर्ने, टुहुरा, घाइते अस्वस्थ वन्यजन्तुको तत्काल उद्धार तथा मृत वन्यजन्तुको व्यवस्थापन र वन्यजन्तुबाट हुने क्षतिको राहत वितरणका लागि तथ्यांक संकलनमा त्रुटि हुन नदिन पहल गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी गण गुह्येश्वरीका प्रहरी उपरीक्षक उद्घव न्यौपाने, वीरदल गणका लेफ्टिनेन्ट कर्णेल राजन दाहाल, राष्ट्रिय प्राणी उद्यानका निर्देशक लालबहादुर भण्डारी, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका केदारनाथ कटेल, सीआईबीका प्रहरी नायब उपरीक्षक राजकुमार राई, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिलगायतले वन क्षेत्रको संरक्षण र विकासका लागि सरोकारवालाको साझेदारी र सहमति जुटाएर वन कार्यालयले काम गनुपर्ने बताउनुभयो ।बैठकमा डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालले भक्तपुरमा विकासका कतिपय काम गर्दा संघीय सांसद, प्रदेश सांसद र नगरप्रमुखको नेतृत्वमा प्रक्रिया अपनाएर रुख कटान गर्दा पनि अख्तियारमा मुद्दा परेको र त्यसको भारी आफूमाथि परेको बताउनुभयो ।

पर्यावरणमैत्री विकास हुनुपर्नेमा कतिपय स्थानमा विकासका नाममा वन क्षेत्रको दोहन भएको उहाँको भनाइ छ । विकासका काम गर्दा आईई र ईआईएको प्रक्रिया पु¥याउनुपर्नेमा त्यसको प्रक्रिया नपु¥याएको र वनसँग सम्झौता नगरी जंगल फँडानी भइरहेको बताउनुभयो ।
सो अवसरमा उत्कृष्ट काम गर्ने काँक्राबारी भित्री वन सामुदायिक वन उपभोक्ता समिति सूर्यविनायकलाई १९ हजारसहित प्रथम पुरस्कार, बिरसिंगे सावउस सूर्यविनायकलाई १५ हजारसहित द्वितीय र कालिका बहाल सामुदायिक वन उपभोक्ता समिति चाँगुनारायणलाई ११ हजारसहित तृतीय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्