चडेपानीको चित्कार !

भागरथीका हत्यारालाई कारबाहीको माग



राम धामी, डडेल्धुरा ।

बलात्कारपछि निर्मम हत्या गरिएकी भागरथी भट्टको घरमा समवेदना व्यक्त गर्न पुगेका नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले आफ्नो आधा महिनाको तलब र आफूसँगै त्यहाँ गएका सहकर्मीले राहतस्वरुप प्रदान गरेको रकम मृतककी आमालाई दिनुभयो तर ४६ वर्षीया आमा द्रोपती भट्टले रकम समाउन इन्कार गर्नुभयो ।

‘राहतभन्दा पनि छोरीका हत्यारालाई खोजेर कारबाही गरिदिनुहोस्’, गहभरि आसुँ झार्दै उहाँले भन्नुभयो– ‘मेरी किशोरी छोरीलाई लुछेर निर्मम हत्या गर्ने व्यक्तिलाई कारबाही भए मलाई अरु थोक केही चाहिँदैन ।’ नेपाली कांग्रेस बैतडीका सभापति तथा दशरथ चन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापासँगै मृतकको घरमा पुगेका सांसद मल्लले प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताउँदा परिवारजन र आफन्तजनहरुले पत्याएनन् ।पाँच दिनदेखि चडेपानी गाउँ शोकाकुल छ । १७ वर्षीया किशोरीको विभत्स हत्या प्रकरणले स्थानीय सन्त्रस्त छन् । गत महिना मात्रै ५० वर्षीय पति कृष्णानन्द भट्टलाई गुमाएकी द्रोपतीको घरमा अर्को व्रजपात भएको छ । पाँच दिनदेखि खाना खान नसकेकी द्रोपतीको एक मात्रै सहारा भागरथी थिइन् । बाबुको काजक्रिया १६ दिनमै सकेर २० वर्षीय छोरा केशव कामको खोजीमा भारत पसेका थिए ।

उनले भारत पुगेर काम नपाउँदै बहिनीको विभत्स हत्या भएको खबर सुने । हतारमा आइतबार मात्रै घर फर्किएका केशवले हाल आमालाई सम्झाइरहेका छन् तर, बहिनीका हत्यारालाई कारबाही हुने कुरामा स्वयम् केशव पनि विश्वस्त हुन सकिरहेका छैनन् ।आमाले रकम समाउन इन्कार गरे पनि सांसद मल्लसहितको टोलीबाट प्राप्त रकम बुझेका केशवले न्यायको लडाइँ लड्न सबैको साथ पाउने विश्वास व्यक्त गर्नुभयो । ‘कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या भएको घटना लामो समयदेखि ओझेलमा छ, सरकारले छानबिन गरेर दोषी पत्ता लगाउँदै न्याय दिन्छ भन्ने आशा पटक्कै छैन।’ –केशवले भन्नुभयो । बहिनीको हत्यारालाई कारबाही नभएसम्म गाउँमा सन्त्रास कायमै रहने केशवको भनाइ थियो ।चडेपानी र आसपासका बस्तीहरुमा किशोरीलाई एक्लै विद्यालय पठाउन, मेलापात र पानी पँधेरोमा पठाउन नसकिने अवस्था सिर्जना भएको नेपाल तरुण दल बैतडीका सभापतिसमेत रहेका स्थानीय अगुवा घनश्याम भट्टले बताउनुभयो ।मृतक किशोरी भागरथीले भारतीय सिमकार्डसमेत प्रयोग गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले भारतीय सिमकार्ड प्रयोग गर्दै आएका छन् ।

भारतमा आफन्तसँग कुरा गर्नका लागि भागरथीले सिमकार्ड राखेको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् । कतिपय कुरामा आवश्यक परे भारतीय प्रहरीको समेत सहयोग लिन सकिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा एक जनाको संलग्नता हुन सक्ने सम्भावना बढी देखिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चार जना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर एक्लै हिँडेकी थिइन् । बिहीबार उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठिएको र योनीबाट रगत बगेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

स्थानीय अगुवाहरुले प्रहरीलाई विश्वास गरेर अनुसन्धानमा सघाउने भन्दै आइतबारदेखि बन्द र हडतालका कार्यक्रमहरु स्थगित गरेका छन् । मृतकको शव जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम भइसकेको भए पनि आफन्तहरुले बुझेका छैनन् । हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनको अडान छ । तीन दिनका लागि सिँगो बैतडीमा शैक्षिक हडताल गरिएको र अनुसन्धानमा लापरबाही भएको आशंका उत्पन्न हुनेबित्तिकै पुनः बन्द र हडतालमा उत्रिने स्थानीयस्तरमा गठित संघर्ष समितिले जनाएको छ । पछिल्लो समय बैतडी मात्रै नभई छिमेकी जिल्लाहरुमा समेत भागरथीलाई न्याय माग्दै दिनहु आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्