तीन हजार सिट क्षमताको सभाहल निर्माण अन्तिम चरणमा



 मधुसूदन रायमाझी ,काठमाडौं ।

ललितपुरको गोदावरीमा निर्माण भइरहेको तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण केही प्रभावित बन्न पुगेको सभाहल निर्माण कार्यले गति लिएसँगै अन्तिम चरणमा पुगेको हो ।काठमाडौं उपत्यकाभित्र सभा–सम्मेलन गर्न सभाहलको अभाव भएपछि सरकारले ललितपुर नगरपालिका–३ गोदावरीमा सभाहल निर्माणको काम अगाडि बढाएको थियो । आधुनिक र प्रविधियुक्त सभाहलको निर्माण कार्य २०७६ कात्तिकबाट शुरु गरिएको थियो ।

पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको सभाहल निर्माण कार्य लकडाउनका कारण प्रभावित बन्न पुगेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण समन्वय आयोजनाले बताएको छ ।अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा–सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि २०७६ भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले गोदावरीमा सभाहल निर्माण गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसलगत्तै शहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो ।भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सरकारले छोटो अवधिमा सम्पन्न गर्ने नीतिसहित सभाहल बनाउने निर्णय गरेको थियो ।शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठले सभाहल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । सभाहलको हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै आयोजना प्रमुख श्रेष्ठले आगामी चैत मसान्तभित्र सम्पन्न गरिने गरी काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सभाहल चैतभित्र सम्पन्न गर्ने गरी काम गरिरहेका छौं ।’

४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भइरहेको सभाहल निर्माणको काम अहिले धमाधम भइरहेको छ । ७२ करोड लागतमा निर्माण भइरहेको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सभाहल निर्माणको ठेक्का केसी सामान्तर जेभीले गरिरहेको छ । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थलसहितको सभाहल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।सरकारले एउटै हलमा एकैपटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको थियो । मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण गरिएको छ ।

भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्ष रहेका छन् । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था गरी हल निर्माणको काम भइरहेको छ । कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको निर्माण गरिएको छ ।बानेश्वरमा रहेको १ हजार २ सय ५० जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हाल संसद् भवनमा रूपान्तरण भएको छ । हाल ठूला सम्मेलन गर्न सम्मेलन केन्द्रको अभाव रहेको छ । काठमाडौं उपत्यकाका प्रायः सभा–सम्मेलन करिब ९ सय क्षमताको प्रज्ञा भवन, ५ सय क्षमताको राष्ट्रिय सभागृह र हजार क्षमतासम्मको राष्ट्रिय नाचघर प्रयोग हुँदै आएको छ ।

गोदावरीमा निर्माणाधीन ३ हजार सिट क्षमताको सभाहलले ठूला सम्मेलन व्यवस्थापन गर्न महŒवपूर्ण भूमिका खेल्ने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।सभाहल निर्माणबारेमा केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत अनुमगन गरेर समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्