९५ वर्षीया वृद्धालाई १० हजारको हत्या गरेको आरोप



वर्लिन, (एजेन्सी)  ।

कुनै समय तानाशाही हिटलरको नेतृत्वमा रहेको जर्मनीको नाजी फौजको यातना शिविरमा सचिवको रूपमा काम गरेकी ९५ वर्षीया वृद्धालाई अहिले आएर १० हजार मानिसको हत्या गरेको अभियोग लगाइएको छ । जर्मन गोपनियता कानुनअनुसार ती वृद्धाको नाम भने खुलाइएको छैन ।

उनी अहिले ह्याम्बर्ग शहरको पिन्नेवर्गस्थित जर्मन अवकाश प्राप्त कर्मचारीहरू बस्ने वृद्धाश्रमममा बस्दै आएकी छन् । सन् १९४३ को जुनदेखि १९४५ को अप्रिलसम्म उनले हाल पोल्यान्डमा पर्ने स्टथोप यातना शिविरमा सचिव र टाइपिस्टको रूपमा काम गरेकी थिइन् । उनलाई सिलसिलाबद्धरूपमा सो शिविरमा रहेका यहुदी, रुसी तथा पालिस पृथकतावादी वन्दिहरूको हत्या गर्न सहयोग पुर्‍याएको अभियोग लगाइएको छ ।जर्मनीमा लामो समयपछि कुनै पनि महिलालाई आम नरसंहारको अभियोग लगाइएको यो पहिलो घटना भने होइन ।

सो यातना शिविरमा करिब ६५ हजार मानिसको ज्यान लिइएको विश्वास गरिन्छ । मारिनेमध्ये २८ हजार यहुदी थिए । हजारौंलाई विषालु ग्यास कार्बन मनोक्साइडको च्याम्बरमा राखेर मारिएको थियो । बाँकि केहीलाई गदाले पिटेर, हिलोमा डुबाएर, विषाक्त खोप लगाएर, गोली हानेर वा खाना नदिई काम मात्रै गराएर मारिएको थियो ।सांकेतिक नाम ‘इर्मगार्ड एफ’ दिइएका ती वृद्धाले सन् २०१९ मा जर्मन रेडियोलाई युद्धपछि मात्र आफूले त्यहाँ हत्या हुने गरिएको थाहा पाएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्