प्रधानमन्त्रीद्वारा भ्रष्टाचारको आरोप अस्वीकार



इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ ।
जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उहाँले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गर्नुभएको हो ।

इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।अदालतबाट निस्कनेक्रममा उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”

उहाँलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उहाँलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उहाँले अहिले मात्रै पेश गर्नुभएको हो ।

प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । उहाँलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उहाँ १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्