वीरगन्ज महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि संरचना बनाउने



कृष्णउदास खनाल,वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण थालेको छ । महानगरले हालै सञ्चालनमा ल्याएको फोहोरमैला व्यवस्थापन केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बेग्लै संरचनाको तयारी गरेको हो ।

अस्पतालबाट निस्किने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गरिनुपर्नेमा अहिलेसम्म यो अभ्यासमा छैन । अस्पतालको फोहोरबाट रोगको संक्रमण फैलिने भन्दै विगतमा सर्वोच्च अदालतले यस्तो फोहोरलाई मापदण्डअनुसार व्यवस्थापन गर्न आदेश दिएको थियो ।फोहोरमैला व्यवस्थापन ऐनमा अस्पतालबाट निस्किने फोहोरलाई निर्मलीकरण गरेरमात्रै अन्य फोहोरमा मिसाउनुपर्ने प्रावधान छ । तर, अहिलेसम्म यो व्यवस्थाको पालना भएको छैन ।

वीरगन्ज महानगरले यस्तो फोहोर व्यवस्थापनलाई लक्षित गरी बेग्लै कानून र त्यसअनुसारको मापदण्ड बनाइरहेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि फोहोरमैला व्यवस्थापन केन्द्रस्थलमै बेग्लै युनिट बनाउन लागिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । महानगरले मापदण्ड बनाएर यस्तो फोहोर व्यवस्थित तरिकाले विसर्जन गर्न लागेको प्रमुख सरावगीको भनाइ छ ।

राष्ट्रिय योजना आयोगको अनुदानमा निर्माण भइरहेको हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर यो आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने उद्देश्य रहेको र महानगरले ३ महीनाअघि निर्माणको ठेक्का लगाएको उहाँले जानकारी दिनुभयो । समयसीमाभित्रै निर्माण पूरा गर्न अनुगमन भइरहेको र कामको प्रगति सन्तोषजनक रहेको दाबी पनि सरावगीले गर्नुभयो ।

७ करोड रुपियाँको लगानीमा फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिसहितको संरचना तयार हुन लागेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनुभयो । अस्पतालबाट निस्किने फोहोरलाई घरायसी फोहोरजस्तै व्यवस्थापन गर्न नमिल्ने भएकाले निर्मलीकरणका लागि संरचना तयार भइरहेको देवकोटाले बताउनुभयो ।

नगरक्षेत्रबाट प्रत्येक दिन करीब ५ मेट्रिकटन अस्पतालजन्य फोहोर निस्किने अनुमान महानगरको छ । योमध्ये करीब २ टन फोहोर संक्रमणका दृष्टिले अति जोखिमयुक्त रहेको दाबी महानगरको पूर्वाधार महाशाखाका इन्जिनियर राजीव सिंहले गर्नुभयो । वीरगन्जका अस्पताल, नर्सिङ होम, क्लिनिक, प्याथलोजी, औषधि उद्योग र विक्रेताहरूबाट यस्तो फोहोर उत्पादन भइरहेको छ ।

अस्पतालबाट फोहोरको रुपमा निस्किने मानवअंग, रगत, सुई सिरिन्ज, औजार, म्याद नाघेका औषधिलगायतका फोहोरबाट संक्रमण फैलिने सम्भावना बढी हुने महानगरको स्वास्थ्य महाशाखाले बताएको छ ।तीन कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको केन्द्रमा अस्पतालजन्य फोहोरलाई उच्च तापक्रममा वाफद्वारा निर्मलीकरण गर्ने प्रविधि राखिने जानकारी इन्जिनियर सिंहले दिनुभयो ।

फोहोर निर्मलीकरण गरेपछि पुनः प्रयोग हुनेलाई छुट्याएर कुहिने फोहोरबाट मिथेन ग्यास बनाउने योजना पनि उहाँले सुनाउनुभयो । अस्पतालजन्य फोहोर मापदण्ड नपुयाई विसर्जन गर्दा सरूवा रोगको संक्रमण फैलिनसक्ने र सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्ने भएकाले छुट्टै व्यवस्थापनको तयारी थालिएको महानगरको योजना अनुगमन तथा सूचना प्रविधि महाशखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्