पत्रकार डेकेन्द्रका हत्या आरोपी १६ वर्षपछि पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन् । पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी गाडेको अवस्थामा शव भेटिएको थियो ।

हत्या मुद्दामा शाहीलाई जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसालापछि शाही फरार हुँदै आएका थिए । शाहीलाई कैद भुक्तानका लागि दैलेख कारागार पठाइएको छ । पत्रकार थापाको १६ बर्षअघि तत्कालिन विद्रोही नेकपा माओवादीमा आबद्ध केही कार्यकर्ताहरुले हत्या गरेका थिए ।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै नौ जनालाई दोषी ठहर गरेको थियो । अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई/दुई वर्ष, लक्षिराम घर्र्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन् ।

फरार रहेका हकमा सम्पत्ति रोक्का गरेर पक्राउ गर्न आदेश दिइएको छ । फरार भएका नेताकै संरक्षणमा खुलेआम हिँडिरहेको भन्दै पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । पत्रकार थापाको हत्या अभियुक्त केही पक्राउ परिसकेका छन् भने केही अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्