पर्वतमा दुई सडक पुल एकसाथ उदघाटन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एकसाथ उद्घाटन भएको छ ।

मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गर्नुभएको हो ।

रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ । यो पुल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ ।

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।

अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन् ।

विकास निर्माणका कामको गति बढाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधार विकास निर्माणको काममा देशले थप गति दिनुपर्ने बताउनुभएको छ । पुल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले आगडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा बृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले राजनीतिक परिवर्तन सँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सपन्न नहुँदा योजनाहरु अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथा प्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोरलगायत सडक तथा पक्की पुल थुप्रै योजना अगाडि बढेको जानकारी गराउनुभयो ।

‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौै । ‘पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदै छ । ग्रामिण सडक सुधार आयोजनाअन्तर्गत १०० किमी सडक पर्वतमा निर्माण हुँदैछ ।’

अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा आवश्यक विकास निर्माणको काममा जनताको प्रतिनिधिका रुपमा आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्