रन्जना कार्कीको प्रेमको महासागर सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौँ ।

रन्जना कार्कीद्वारा लिखित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक भएको छ । एक कार्यक्रमका बीचमा कार्कीको उपन्यास सार्वजनिक भएको हो । क्यानडामा बस्दै आएकी कार्कीले आफ्ना मातापितालाई आफ्नो प्रतिनिधित्व गराउँदै पुुुस्तक लोकार्पण गराएकी छन् ।

उनले आफ्ना मातापिता, आफन्तजन र कार्यक्रममा उपस्थित साहित्य क्षेत्रका व्यक्तित्वहरुको माझमा उपन्यास सार्वजनिक गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताएकी छन् । कोरोना महामारीका कारण पुस्तक विमोचनमा ढिलाई भएका बताउँदै उनले भनिन्,’ एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवस्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ ।’

एक दशक पछिको पहिलो कृति सार्वजनिक गर्न पाउँदा आफू धेरै उत्साहीत रहेको कार्कीले बताइन् । कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्कीले छिट्टै अर्को नयाँ पुस्तक प्रकाशन गर्ने सोच बनाएको जानकारी दिएकी छन् । नेपाली साहित्य लेखन क्षेत्रलाई निरन्तरता दिने प्रण गर्दै कार्कीले आफूमा अझै जिम्मेवारी थपिएको महसुस भएको बताएकी छन् ।

कार्यक्रममा सङ्गीतकार राजेश थापा , पत्रकार राज लुइँटेल, स्वास्थ्यकर्मी अर्जुनबाबु दाहाल , सञ्चारकर्मी रमेश न्यौपाने समाजसेवी सूर्यकला, आचार्य समाजसेवी गीतादेवी राउत र कराँते खेलाडी अनुुशिका अधिकारीलाई सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागी उपन्यास सम्पादक तथा दर्पण नेपाल संस्थाका अध्यक्ष साहित्यकार गोबिन्द कडेल आँसुले बिदेशी भुमीमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउँदै आएकोमा कार्कीलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल, वरिष्ठ समालोचक महेश पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकालीलगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्