रियलको जितमा भराने नायक



लन्डन, (एजेन्सी)  ।

स्पेनिस ला लिगा फुटबलमा राफेल भराने नायक बन्दा रियल मेड्रिडले जितको नतिजा निकालेको छ ।शनिबार राति भएको उक्त खेलमा रियलले हुएस्कामाथि २–१ को पुनरागमन जित निकाल्दा दुवै गोल भरानेले गरेका थिए । रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै हुएस्कामाथि उसैको मैदानमा पुनरागमन जित हात पारेको हो ।

खेलको ४८औं मिनेटमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले पेनाल्टी बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि हुएस्काले खेलमा १–० को अग्रता लिएको थियो । तर, खेलको ५४औं मिनेटमा भरानेले गोल गर्दै रियललाई खेलमा फर्काए । मार्काे एसेन्सियोमाथि फल भएपछि प्राप्त फ्रिकिकमा कप्तान करिम बेन्जेमाले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा भरानेले हेडरमार्फत गोल गरेका थिए ।

त्यस्तै, खेलको ८४औं मिनेटमा भरानेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले खेलमा अग्रता लिन सफल भयो । टोनी क्रुसको कर्नरमा क्यासमिरोले हेडरमार्फत् मिलाइदिएको पासलाई भरानेले गोल गरेका थिए । यो जितसँगै रियल मेड्रिडको २१ खेलबाट ४३ अंक पुगेको छ । यता, पराजित हुएस्का भने १६ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्