हेटौंडा गोेल्डकप आयोजकलाई



हेटौंडा, (नेस)  ।

हेटौंडामा सम्पन्न हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको उपाधि विजय युथ क्लब हेटौंडाले जितेको छ । फाइनलमा सेन्ट्रल कलेज बीएफसी, भरतपुरलाई २–१ गोलअन्तरले हराउँदै आयोजक टिमले उपाधि चुमेको हो ।

निकै प्रतिष्पर्धात्मक फाइनलमा भरतपुरका रञ्जित आलेमगरले ५७ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि त्यसको ६ मिनेटमा नबित्दै विजय युथका सन्त गुरुङले बराबरी गोल फर्काए । ६६ औं मिनेटमा भरतपुरका खेलाडीले डिबक्समा हातले बलछुँदा विजय युथले पेनाल्टी पाएको थियो । विजय युथका लागि रुपेश केसीले गरेको पेनाल्टी गोल नै विजयी गोल सावित भयो ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख रुपियाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोषित हुँदै विजय युथका फरवार्ड रुपेश केसीले १५ हजार नगद प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलरक्षक विजेता क्लबका अशोक बराल, वेस्ट डिफेन्डर विजय युथकै सुरज बिष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, सर्वाधिक गोलकर्तामा उपविजेता भरतपुरका विदेशी खेलाडी जोन ग्लोरी, वेस्ट फरवार्डमा विजय युथका विमल राना र वेष्ट कोचमा विजय युथकै सुबिन घिमिरे भए । विधागत उत्कृष्ट हुनेले नगद ७ हजार ५ सय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्