फुटसल लिगका लागि टर्नपाइकसँग सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरामा हुने सो प्रतियोगिताको लागि आइतबार टर्नपाइक इभेन्ट प्रालिले व्यवस्थान गर्ने विषयमा एन्फासँग सम्झौता समेत भयो । सम्झौताअनुसार टर्नपाइकले आयोजक एन्फा फुटलस कमिटीलाई नगद र जिन्सी गरेर २९ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा वैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । बागमती प्रदेशबाट ४ टोली, प्रदेश १ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश २ बाट एक टोली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संयुक्त एक टिम हुनेछ । लिगका लागि प्रदेश १ को छनोट खेलहरू चैत १ देखि ५ सम्म इटहरीमा, प्रदेश २ को छनोट हेटांैडामा चैत ८ देखि १२ सम्म, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछन् ।

लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध क्लबहरूले सहभागिता जनाउन पाउनेछन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् । यस्तै, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्