स्रोत नखुलेको ४९ लाख बरामद



हेटौंडा, (नेस) ।

बारामा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपियासहित दुई भारतीयलाई पक्राउ गरेको छ ।फेटा गाउपालिका–५, जोतपुर टोलस्थित दसगजा क्षेत्रनजिक पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ बीआर ०५ वाई ६४१७ नम्बर प्लाटिना मोटरसाइकलमा २ जना शंकास्पद् अवस्थामा आएको देखेर चेक गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

रकम सम्बन्धमा सोधपुछ गर्दा उनीहरूले स्रोत नखुलाएको र नाम सोधपुछ गर्दा मोटरसाइकलचालकले आफू भारतको बिहार जिल्ला मोतीहारी, थाना हरपुर, ग्राम पञ्चायत हरपुर, वडा–१० को घोडासहन ग्राम बस्ने वर्ष २६ का अरबिन्द महतो र पछाडि बस्नेले आफू १४ वर्षीय रहेको बताएका थिए ।

कपडाको झोलाभित्र लुकाएर ल्याइएको नेपाली १ हजार दरका १ हजार ९ सय २३ थान (१९ लाख २३ हजार), नेरू ५ सय दरका ५ हजार ७ सय ४ थान (२८ लाख ५२ हजार), नेपाली रूपियां १ सय दरका १ हजार २ सय थान (१ लाख २० हजार) र नेपाली रूपैया ५० रूपैया दरका १ सय थान (५ हजार) गरी नेपाली रूपैया उनान्चास लाख फेला पारी बरामद गरिएको हो ।

बरामद रकम, रकम ओसारपसार गर्न प्रयोग गरिएको मोटरसाइकलसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेकालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौंमा पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्