रामपुर नगरपालिकाले दिन थाल्यो घरमै पुगेर विभिन्न सेवा



पाल्पा (नेस) ।

पूर्वी पाल्पाको रामपुर नगरपालिकाले घरमै पुगेर विभिन्न सेवा प्रदान गर्न सुरू गरेको छ । नगरपालिकाले शारीरिक तथा मानसिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सम्बन्धित वडाको घरमै पुगेर सेवा दिन थालेको हो ।यस्ता नागरिकलाई लक्षित गर्दै नगरपालिकाको केन्द्रदेखि टाढा रहेका, विकट र दुर्गम वडाहरूमा पुगेर अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण, आँखा जाँच तथा उपचार सेवा कार्यक्रम शुरू गरेको जनाएको छ ।

पहिलो चरणमा नगरपालिका वडा नं १ र २ का नागरिकलाई लक्षित वडा नम्वर १ को कार्यालयमा शिविर आयोजना गरी सेवा दिइएको छ । शिविरमा अपाङ्गता भएका १५ जना नागरिक र ३६ ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।गण्डकी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा एक सय २१ जनाले शिविरमार्फत आखा जाच सेवा लिएका छन् । आखा जाचका क्रममा छ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएको छ ।रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले कार्यक्रमको सुरूवात गर्दै नगरपालिका कार्यालयमा पुगेर सेवा लिन नसक्ने र नगरपालिकाको विकट क्षेत्र रहेका नागरिकलाई वडामा नै पुगेर शिविर सञ्चालन गरी सेवा दिइएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई नगरपालिका कार्यालयमा नै सेवा लिन आउन जान समस्या परेकाले वडा वडाबाट शिविर सुरू गरेको र शिविरमा पुगेर सेवा लिन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने बताउनुभयो ।वडा वडामा पुगेर सेवा दिने र छुटफुट भएका नागरिकलाई नगरपालिका कार्यालयबाटै परिचय पत्र वितरण गर्ने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्