११९औं सम जयन्ती मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९औं जन्मजयन्ती काठमाडौंको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी उहाँप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्नुका साथै सोही दिन साँझ भर्चुअल विचार–गोष्ठीको आयोजना गरी मनाइएको छ ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘बालकृष्ण समका नाटकमा देशप्रेम’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका कविता, काव्य, नाटकलगायतका विविध विधामा आफ्ना कालजयी कृतिहरू दिएर नेपाली वाङ्मयलाई विशिष्ट साधक बालकृष्ण समले उल्लेखनीय योगदान दिनुभएको बताउनुभयो ।

नेपाली शिक्षा परिषद्सँग विगत केही वर्षअघिदेखि संयुक्तरूपमा बालकृष्ण सम जन्मजयन्ती मनाउँदै आएको उल्लेख गर्दै कुलपतिले यस वर्ष विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण भर्चुअल माध्यमबाट गोष्ठी आयोजना गरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो– ‘समका कृतिमा जीवन, जगत्, प्रकृति, धर्म, संस्कृति, दर्शन, चिन्तन, देशप्रेम र समाजलगायतका विभिन्न विषय जोडिएका पाइन्छन् । यसपटकको विचार–गोष्ठीको विषयचाहिँ हामीले देशप्रेमलाई रोजेका थियौं । गोष्ठीपत्र प्रस्तोता प्राडा देवीप्रसाद सुवेदीको प्रस्तुतिबाट हाम्रो रोजाइ सार्थक भएको मैले ठानेको छु ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कार्यक्रमको विषयमाथि प्रकाश पार्दै बालकृष्ण समले नेपाली वाङ्मयका क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो– ‘समलाई नाट्य सम्राट् भनेर सम्मान व्यक्त गरिए पनि उहाँका कविता, काव्य जीन, जगत्, दर्शन सबैका हिसाबले उत्कृष्ट छन् । कालजयी छन् । नेपाली वाङ्मयका सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको पाइन्छ ।’गोष्ठीमा प्राडा देवीप्रसाद सुवेदीले ‘बालकृष्ण समका नाटकमा देशप्रेम’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्र प्रस्तुत गर्दै प्राडा सुवेदीले समका नाटकमा देशभक्ति र देशप्रेमको भावना सघनरूपमा प्रकट भएको जिकिर गर्नुभएको थियो ।

गोष्ठीका सभाध्यक्ष नेपाली शिक्षा परिषद्की कार्यवाहक अध्यक्ष प्राज्ञ रमा शर्माले समले आफूलाई आफ्ना नाटकमा अभिनय गराएको स्मरण गर्दै बालकृष्ण सम नेपाली वाङ्मयका अमर साधक भएको बताउनुभयो । कार्यक्रममा शिक्षा परिषद्का सदस्य प्रल्हाद पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रविधि संयोजन उपप्रमुख विश्वास घिमिरे र सहसंयोजन योजना तथा कार्यक्रम महाशाखाका रञ्जन घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्