सन्तुलित भोजन : स्वस्थ जीवन



माछा, मासु, अण्डा समावेश नभएको अन्न, गेडागुडी, फलफूल सागसब्जी, दही, दूध एवं बोटबिरुवाबाट उत्पादित खाद्यवस्तु शाकाहारीमा पर्छन् । सन्तुलित शाकाहारी भोजन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हरिया सागपात, पहेँला फलफूल, बदाम तथा जडीबुटीमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा भएको विकार बाहिर निकाल्नुका साथै रोगप्रतिरोधक क्षमता वृद्धि गर्छ ।

खनिज तथा भिटामिन बोटबिरुवाबाट प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, रक्तअल्पता आदिबाट पनि जोगिन सकिन्छ । शाकाहारी भोजन खासगरी बोटबिरुवाबाट उत्पादन हुने भएकाले त्यसमा पानीको मात्रा मांसाहारी भोजनको तुलनामा बढी हुन्छ । यसले शरीरमा पानीको परिपूर्ति गर्न सहयोग पु¥याउँछ । सागपात एवं फलफूलमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले कब्जियत, ग्यास्ट्रिक, कोलोन क्यान्सर तथा एसिडिटी कम गर्नुका साथै पाचन प्रणाली मजबुत बनाउँछ ।शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट, खनिज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारिरीक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ ।

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइड्रेट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठदेखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।
मकै, गहुँ, चामल, आलुलगायतका स्टार्चयुक्त खाद्यपदार्थ ऊर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो । सागसब्जी तथा फलफूल, फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनुपर्छ । शरीरलाई स्वस्थ राख्न बोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूँको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याटअन्तर्गत पर्दछ । दूध, दही, पनिरलगायतका दुग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषक तत्व हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा बोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबिन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो स्रोत मानिन्छ । सोयाबिन र नट्समा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसले विशेष गरी मांसपेशी तथा टिस्युको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।प्रत्येक दिन सबै किसिमका खाद्यपर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्यपदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।
– सुमित्रा विष्ट, कैलाली ।

प्रतिक्रिया दिनुहोस्