गणित शिक्षाको सन्दर्भमा केही कुरा चर्चा गर्न आवश्यक ठानेको छु । गणित विषय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै एउटै प्रकृतिको छ । अझ भनौं, नेपालमा जुन गणित पढाइ हुन्छ अमेरिकामा पनि त्यही हो अथवा अन्य कुनै देश । यद्यपि विषय सूची तल–माथि पर्न सक्ला । विडम्बना, आज नेपालमा गणित शिक्षाको स्थिति निकै खस्कँदो र दया लाग्दो छ । प्रभावकारी शिक्षण विधि नहुनु, विषय शिक्षकले गणित नपढाउनु, शिक्षकले बुझे पनि विद्यार्थीलाई बुझाउने कला पर्याप्त नहुनु, माथिल्लो कक्षामा गणित विषय आफैंमा व्यावहारिक बन्न नसक्नुले पनि गणित विषयमा आमविद्यार्थीको चासो नबढेको हुन सक्ने देखिन्छ ।
गणित विषयको विज्ञापन खोल्न थालियो भने बोर्डिङ स्कुलहरुमा एमएस्सीमा गणित गरेकालाई प्राथमिकता दिइन्छ । कारण हो, एउटै शिक्षकले गणित र विज्ञान पढाउनु । एउटा शिक्षक राख्दा दुईवटा विषय पढाएपछि बोर्डिङको आयभार घट्छ भनेर यसो गरेको देखिन्छ । एक अध्ययनले भनेको छ– अधिकांश विद्यालयमा सम्बन्धित शिक्षकले भन्दा अन्य विषय पढाउने शिक्षकले गणित विषय पढाउँदा विद्यार्थीहरुको जग अर्थात् बेस कमजोर भएको देखिन्छ ।
शिक्षक हुनलाई कम्तीमा अध्यापन अनुमति पत्र हुनुपर्छ र शिक्षण विधिको बारेमा बुझेको हुनुपर्छ । अहिले गणितबाट स्नातकोत्तर गरेकाहरु खालि बसेका छन् तर शिक्षण विधि नबुझेर दुईवटा विषय मावि तहसम्म एमएस्सी गरेकाहरुले पढाइरहेको देखिन्छ । क्षमताको विरोध गरेको होइन । प्रक्रिया आफैंमा विरोधाभास छ । यसतर्फ सरकार र जिल्ला तहमा जिल्ला शिक्षा कार्यालय वा सरोकारवालाले ध्यान पु¥याउन आवश्यक देखिन्छ ।
गणित विषय र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न निकै जरुरी देखिएको छ । गणित आफैंमा तथ्य हो, जसले घरायसी समस्यादेखि हरेक समस्याको सहज तरिकाले हल गर्न सक्छ । घरायसी कामदेखि उच्च कार्यालयहरुमा समेत गणितको प्रयोग प्रत्यक्ष र अप्रत्यक्ष तवरले भइरहेको हुन्छ ।पसलमा तरकारी किन्दा होस् अथवा कार्यालयहरुको बर्सेनि लेखापरीक्षण गर्दा होस्, गणित नहुँदो हो त यो संसार कस्तो हुने थियो ? हामी कल्पना गर्न पनि सक्दैनौं । बिहान उठ्दा कति बज्यो भनेर सोध्छौं, बेलुका अफिस कति बेला छुट्टी हुन्छ भन्छौं । जहाँ कति भन्ने प्रश्न उब्जन्छ त्यहाँ गणित लुकेको हुन्छ ।विडम्बना, अहिले गणितलाई अंकसँग मात्रै दाँज्ने काम गरिएको छ । मानव जातिको उत्पत्तिसँगै गणितको पनि उत्पत्ति भएको हो । अंक प्रणालीको विकास नहुँदा ढुंगेयुगमा ढुंगालाई मनन गर्ने र कतिवटा ढुंगा बराबर कतिवटा लालाबाला अर्थात् वस्तु थिए भन्ने अनुमान गरिन्थ्यो । बिस्तारै गणित विषयलाई लोप गराइँदै छ । यद्यपि गणित विषयलाई भित्री आत्मादेखि मनन नगरेर लोप गराइए पनि वास्तविक तहमा गणित कहिल्यै हराउँदैन ।
गणितको विकासका लागि केही चुनौतीहरु खडा भएका छन् । गणित तथ्य, सत्य र वैज्ञानिक रुप हो । हामीले गणित विषयलाई खेलौना ठान्नुहुँदैन । शिक्षण प्रक्रियामा गणितको जग हाल्न आवश्यक छ । जबसम्म व्यावहारिक तरिकाले गणित विषय शिक्षण गरिँदैन तबसम्म विद्यार्थीले रस पाउन सक्दैनन् । अन्ततः शैक्षणिक योजना विफल हुन्छ ।घन, आयत, क्षेत्रफल, उचाइ, दूरी, समय, लम्बाइ, गतिजस्ता हरेक क्षेत्रमा गणित उपयोगी छ । मान्छेको उचाइ नाप्दा होस् अथवा दूधको मापन गर्दा अथवा विद्यार्थीले परीक्षामा ल्याएको अंकलाई प्रतिशतमा बदल्दा नै किन नहोस्, अथवा बैंकमा ऋण तिर्दा अथवा बच्चाको तौल नाप्दा नै किन नहोस् । गणितकै खाँचो छ । तर अबको गणित शिक्षा मौलिक र व्यावहारिक हुन आवश्यक देखिन्छ । त्यसको शुरुवात पाठ्यक्रममा केही आंशिक परिवर्तन हो । हो, अहिले गणित विषयमा विद्यार्थीको रुचि घटेकै हो ।
हामी गणितमा डेरिभेटिभ, एन्टिडेरिभेटिभ, लिमिट, सेट, स्टान्डर्ड डेभिएसन, थ्योरमलगायतका विषयवस्तु त पढ्छौं तर ठ्याक्कै कहाँ प्रयोग गरिन्छ, व्यावहारिकतः अधिकांश विद्यार्थीले थाहा पाउँदैनन् । केवल कक्षा तह बढाउन मात्रै पढेजस्तो भएको छ । हो, अबको शिक्षा थाहा पाउने र बुझ्ने गरी कलात्मक तरिकाले पढ्न सकियो भने त्यसले दीर्घकालीन महत्व राख्छ । नत्र अनावश्यक तरिकाले घोकन्ते तवरले पढियो भने दिमागको बोझबाहेक केही हुँदैन । यसका लागि सरकारले शिक्षकलाई विशेष प्रकारको तालिम दिने कार्यलाई अघि बढाउन आवश्यक देखिएको छ । गणितप्रति रुचि बढाउन तल्लो कक्षादेखि नै शिक्षण विधि विद्यार्थी–मैत्री बनाउँदै लैजानुपर्छ ।
– सन्देश जोशी, पुल्चोक, ललितपुर ।