उत्तराखण्डमा आएको भीषण बाढीमा डेढ सय जनाको मृत्यु



नयाँदिल्ली, (एजेन्सी) । 

विशाल हिँउका ढिक्का एउटा बाँधमा खस्दा उत्तरी भारतमा ठूलो बाढी आउनुका साथै यस दुर्घटनामा दर्जनौं व्यक्तिको ज्यान गएको र अन्य थुप्रै हराइरहेको आशंका गरिएको छ । बाँध भत्किएपछि उत्तराखण्ड राज्यको उपत्यकामा ठूलो बाढी आएको हो । दुर्घटनाको सूचना पाउनेबित्तिकै स्थानीय अधिकारीहरूले मानिसहरूलाई थुप्रै गाउँ खाली गर्न लगाएका थिए ।

तैपनि, बाढीमा परेर करिब एक सय पचास जनाको मृत्यु भएको हुनु सक्ने अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा बाढीले ठूलो क्षेत्रमा विनाशलिला मच्चाइरहेको देखिन्छ । धाउली गंगा नदी छेउ बस्ने संजय सिंह रानाले बाढी निकै तीव्र गतिमा आएकाले कसैलाई सतर्क गराउनै नभ्याएको अन्ततर्राष्ट्रिय सञ्चार निकाय रोयटर्सलाई बताएका छन् । प्रहरी प्रवक्ताले अहिलेसम्म तीनवटा लास फेला परेको र एक सय पचास व्यक्ति हराइरहेको उजुरी परेको एएफपी समाचार निकायलाई जानकारी गराएका छन् । त्यसैगरी, उनले करिब १६–१७ जना सुरुङमा फसिरहेको पनि बताएका छन् ।

उत्तराखण्ड प्रहरी प्रमुख अशोक कुमारले ऋषिगंगा जलविद्युत् परियोजना नामक बाँधमा कार्यरत पचास जनाभन्दा बढि कामदार मारिएको आंशका गरिएको तथा केहीलाई साइटबाट सकुशल उद्धार गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले आफूले परिस्थिति बुझिरहेको बताएका छन् । उत्तराखण्डका मुख्य मन्त्रीसँग कुराकानी गर्नासाथ ट्विट गर्दै मोदीले त्यहँँ सबैको सुरक्षा होस् भन्दै सिंगो राष्ट्रले प्रार्थना गरिरहेको बताएका छन् ।
उद्धार कार्यमा सहयोग गर्न वायु सेनालाई तयार गरिँदै गरेको सरकारले जनाएको छ ।

उद्धारकर्मीहरू थुनिएको सुरुङ खोलने प्रयासमा लागेका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द« सिंह रावतले नदीको उचाइ सामान्यभन्दा एक मिटर माथि रहेका बताएका छन् । छिमेकी राज्य उत्तर प्रदेशका नदी छेउछाउका केही क्षेत्रमा बाढीको उच्च सतर्कता अपनाइ सकेको छ । पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड बाढी र पहिरोको अत्यन्तै जोखिम क्षेत्र मानिन्छ । सन् २०१३ मा पनि दशकौंपछि आएको भीषण मनसुनी वर्षाको कारण त्यहाँ करिब ६ हजार मानिसले ज्यान गुमाउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्