पर्सामा वन्यजन्तुको ज्यान जोगाउन निकुञ्जमा सेना परिचालन



गोकुल घोरसाइने, बारा ।

पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तुको ज्यान जोगाउन निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा नेपाली सेना परिचालन गरेको छ । निकुञ्जले ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित नेपाली सेनालाई त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज सडक र पूर्वपश्चिम लोकमार्गको पथलैया–निजगढ सडकखण्डमा परिचालन गरेको हो ।

३ साताअघि सडकमा गुडेको जिपको ठक्करबाट निकुञ्जको पथलैया–अमलेखगन्ज सडक खण्डको आधाभारमा एक वयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जले पथलैया–अमलेखगन्ज र पथलैया–निजगढ सडक खण्डमा वन्यजन्तुको सुरक्षाका लागि सेना परिचालन गरेको हो । निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गणसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको दुईवटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडकमा खटाएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेशकुमार यादवले निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको दुईवटा समूह परिचालन गरिएको बताउनुभयो । सेना परिचालनपछि सवारीसाधनको गति सीमित हुने र सम्भावित दुर्घटना न्यूनीकरण भएर वन्यजन्तुको ज्यान जोगाउन सकिने उहाँले बताउनुभयो ।३ साताअघि सडक दुर्घटनामा बयस्क पाटे बाघको मृत्यु भएको भोलिपल्टदेखि नै आरक्षले सेनाको गस्ती थालेको हो । अर्को व्यवस्था नभएसम्म निकुञ्ज क्षेत्रभित्र पर्ने सडकखण्डमा सेनाको २ वटा समूहले दिनहुँ गस्ती गर्नेछन् ।

वीरगन्ज भन्सार र औद्योगिक करिडोरबाट छुटेका मालवाहक तथा यात्रुवाहक सवारीसाधन अत्यधिक गतिमा गुड्दा पथलैया–अमलेखगन्ज र निजगढ–पथलैया सडकखण्डमा वर्षेनी दर्जनौं वन्यजन्तुको ज्यान जाने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभसहित ७ वटा जनावरको सडकमै ज्यान गएको छ । यो तथ्यांक विगतका वर्षहरूमा निकै बढी हो ।

प्रतिक्रिया दिनुहोस्