राष्ट्रिय स्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम आजदेखि शुरु



नेपाल समाचारपत्र, काठमाडौं ।

नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक् साइमन्स् इन्स्टिट्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ । भैसेपाटीस्थित नेपाल मेडिसिटीमा शुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स् लगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी गराउनुभएको छ ।

एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहलेनै उपचार गर्दा बिरामीहरुले उत्कृष्ट उपचार प्राप्त गर्न सक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वासमा समस्या लगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्नेछ ।

राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनु पर्ने नवीन सीप र जानकारी प्राप्त गर्नेे अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एडुकेशन डा. निलमणी उपाध्यायले जानकारी गराउनुभएको छ । उक्त तालीमका मोडुअलमा करेन्ट लागेर आउने विरामीहरुको उपचारका विधिहरुलाई पनि समावेश गरेको खण्डमा राम्रो हुने समेत वहांले बताउनु भयो ।

तालीममा काठमाण्डौ, भरतपुर, झापा, तेर्हथुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्यांग्जा लगायतका स्थानबाट सहभागीहरुको उपस्थिती रहेको छ । आइतबारबाट शुरुभएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्