पर्सामा पहिलो चरणमा ४ हजारलाई लगाइयो कोरोनाविरुद्धको खोप



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपालमा जारी कोभिड १९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामापहिलो चरणमा ४ हजार ८ सयलाई खोप लगाइएको छ ।

देशैभरि माघ १४ गते देखि शुरु भएको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा ४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसीयाले जानकारी दिनुभयो ।

पहिलो चरणका लागि पर्सा जिल्लामा ५ हजार ५ सय २० डोज खोप आएको छ । त्यो मध्यसम्म सरकारी र नीजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी , कर्मचारी , सफाइकर्मी , एम्बुलेन्स चालक , महिला स्वंय सेवीका , वीरगन्ज कारागारका कैदीबन्दी , शव व्यवस्थापनामा खटिएका सुरक्षाकर्मी लगायतका गरि ४ हजार ८ सय ४ जनालाइ खोप लगाइएको चौरसियाले जानकारी दिनुभयो ।

बाँकी रहेको खोप मध्ये आइतबार देखि वीरगन्ज भन्सार, आइसीपी र सुख्खा बन्दरगाह भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाइ लगाउन थालिएको चौरसियाले जानकारी दिनुभयो । पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सामा वीरगन्जको नारायणी अस्पताल , नेशनल मेडिकल कलेज र पोखरीया अस्पताल गरि ३ स्थानमा खोप केन्द्र स्थापना गरिएकोमा अहिले भने नारायणी अस्पताल र मेडिकल कलेजमा मात्र खोप केन्द्र सन्चालन गरिएको उहाले बताउनुभयो ।

पहिलो चरणको खोप कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको पनि चौरसीयाले बताउनुभयो । पहिलो डोज लगाएकाहरुलाइ २८ दिन पछि फेरि अर्को डोजको खोप लगाउनु पर्ने भएकाले दोश्रो डोजको खोप फागुन २८ गते वीरगन्ज आइ पुग्ने जानकारी पनि उहाले दिनुभयो । यसपछि सरकारले सन्चालन गर्ने दोश्रो चरणको खोप कार्यक्रमका लागि प्राथमिकतामा पर्ने लक्षित समुहको तथ्याङक सहितको विवरण संकलन गर्ने काम पनि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्