धरानका किरण दुवाथलनको विजेता



काठमाडौं, (नेस) ।

धरान, सुनसरीका किरण लिम्बू तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.३ किमि दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पूरा गर्दै लिम्बू च्याम्पियन भएका हुन् । लिम्बुले पूरा गरेको समय तेश्रो संस्करण सम्मको सवै भन्दा छोटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनेट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए । महिलातर्फ भने अनिशा गुरुङले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन् । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

नेपाल ट्रायाथलन संघ र जम्प नेसनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भइन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पूरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागेपछि चौधरी च्याम्पियनको हकदार बनेकी थिईन् ।

लिम्बू र चौधरीले किङस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुषतर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दूरी ४० मिनेट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पूरा गरे ।

दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै, विजयी सबैलाई प्याङ्कको तर्फबाट निःशुल्क साइकल मर्मतको भौचर प्राप्त गरे । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ कीर्तिपुरमा हुने छ । सिरिजको अन्तिम तथा छैटौं संस्करण उपत्यका बाहिर पोखरामा आयोजना हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्