सप्ताहव्यापी ‘किताब जात्रा’ सम्पन्न



काठमाडौं (नेस)  । किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गते शनिबारदेखि जारी ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ । ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणाका साथै विशेष प्रस्तुतिका साथ माघ २३ ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिनुभयो । कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रसारण गरिएको फेस्टिभल डाइरेक्टरसमेत रहेका अधिकारीले बताउनुभयो ।

यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ । उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई ५५ हजार ५ सय ५५ रुपियाँ राशीसहित हरेक वर्ष प्रदान गरिन्छ । बुईपा–६, खोटाङका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जानकारी दिएको छ ।किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर नगद, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए ।

सम्मानपश्चात् बोल्दै किराँतीले आफूले कविता लेख्दा कहिल्यै पनि सम्मान वा पुरस्कारबारे नसोचेको बताउनुभयो ।त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ । अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रालिले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सीईओ विकेश भट्टराईले जानकारी दिनुभयो ।

विशेष अवार्डसहित सम्मानित भएका विजयकुमारले भन्नुभयो– ‘कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो हुने होइन । तर, कुनै पुस्तक धेरै पाठकले पढ्छन् भने त्यसको गुणवत्ताको राम्रो मूल्यांकन हुन्छ । यस्ता अवार्डले त्यसको परख गर्न सघाउ पु¥याउँछ ।’ पाठकले मन पराएको कृतिलाई विशिष्ठ पहिचान दिन यस्ता अवार्डले भूमिका खेल्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्